काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोठाबय राजपाक्षेको दलले संसदीय निर्वाचनमा ठूलो जीत हासिल गरेको छ । राजपक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्टले दुईतिहाइ बहुमत हासिल गरेको हो । पार्टीले कुल २२५ सीटमध्ये १४५ सिट जितेको छ ।
योसँगै माहिन्दा राजपाक्षे पुनः प्रधानमन्त्री बन्ने आँकलन गरिएको छ । गत नोभेम्बर महिनादेखि उनले कार्यवाहक प्रधानमन्त्री चलाइरहेका थिए ।
श्रीलंकामा एसएलपीएफले नौ महिनाअघि पनि राष्ट्रपति चुनाव जितेको थियो । त्यसपछि गोठाबय राजपाक्षेले राष्ट्रपति पदको सपथ लिएका थिए ।
बुधबार आमनिर्वाचन भएको हो । शुक्रबार बिहान आधिकारिक परिणाम घोषणा गरिएको हो । विगत दुई दशकदेखि श्रीलंकाको राजनीतिमा राजपाक्षे परिवारको दबदबा छ ।
पूर्व राष्ट्रपति रणसिंघे प्रेमदासाका छोराको नेतृत्वमा बनेको नयाँ दल प्रमुख विपक्षी बनेको छ ।
राजपाक्षेहरू सीधा कुरा गर्ने भएकाले श्रीलंकाको सिंहाली जनतामाझ लोकप्रिय छन् । श्रीलंकाको जनसंख्यामा तीन चौथाइ सिंहालीहरू छन् र उनीहरू सन् २००९ मा पृथक्तावादी संगठन तमिल टाइगरलाई परास्त गर्न राजपाक्षे दाजुभाइ सफल भएको श्रेय दिन्छन् । (एजेन्सी)