वीरगञ्ज । समुदायमा नै कोरोना फेलिएको वीरगञ्जको स्थिति जटिल बन्दै गएको छ । पछिल्लो समय संक्रमितसँग मृतकको संख्या पनि थपिएको सो क्षेत्रमा शुक्रबार पनि धेरै संक्रमित थपिए । नारायणी अस्पतालको पछिल्लो तथ्यांक अनुसार पर्सा, बारा, रौतहटकका गरी १४१ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन्।
संक्रमितमध्ये चार जना बाराका, चार जना रौतहटका र बाँकी सबै पर्साका हुन्। संक्रमितहरू ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्म छन्। दुई जनामा भने मृत्युपछि कोरोना पुष्टि भएको हो ।
वीरगंज ११ श्रीपुरका ७९ वर्षीय पुरुष र सोही वडाका घडिअर्वाका ५७ वर्षीय पुरुषको शवको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। ७९ वर्षीय पुरुषको साउन २० गते आफ्नै घरमा मृत्यु भएको थियो भने ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
बिहीवार राति आएको रिपोर्ट अनुसार नारायणी वयोधा अस्पताल गण्डकका ५ जना डाक्टरसहति १४ जना कर्मचारी संक्रमित भएका छन्।सोही अस्पतालका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाइकर्मी गरी ९ जना संक्रमित भएका छन्।
नेशनल मेडिकल कलेजका ३० वर्षीय डाक्टरमा पनि संक्रमण देखिएको छ।
जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तका अनुसार ४३ जना थुनुवा, १ प्रहरी र ५ जना नेपाली सेनामा पनि संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगीका ७२ वर्षीय बुवा र ६८ वर्षीया आमासेमत संक्रमित भएका छन्।
वीरगञ्ज २५ खाल्वाटोला श्रीसियाका २२ जना संक्रमित थपिएका छन्। वीरगंजकै छपकैया, विर्ता, आदर्शनगर, फुलबारी टोल, श्रीसिया, अशोक बाटिका, भवानीपुर, अडिअर्वा, मुर्ली, गण्डक बहुअरी, चिनिमिल, तेजारथ टोल, श्रीपुरलगायत ठाउँमा संक्रमण फैलिएको छ।
त्यसैगरी, पर्सागढी दुई जनामा संक्रमण पुष्टि भएको छ। रौतहटमा होम क्वारेन्टिनमा रहेका चार जनामा पनि संक्रमण देखिएको हो।