काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झन् झन् पेचिलो बन्दै गएको छ । गएको असार ११ देखि सुरु पार्टीको स्थायी समिति बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाको विवाद छताछुल्ल भएको हो । असार ११ पछि पार्टीको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन १३ मा बोलाइएको स्थायी समिति बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेका थिए । त्यसयता प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । ओलीले आफू दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । र, स्थायी समिति बैठकमा समेत भाग नलिने भन्दैआएका छन् ।
यसैक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पलकदमी लिनु पर्ने बताएका छन् । गोरखाका पत्रकारहरुसँग मंगलबार कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणपछिको पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत ओली नै भएकाले पार्टी वैठकबाट पन्छिन र भाग्न नमिल्ने बताएका छन् ।
पार्टीभित्रको विवादलाई वैठकका माध्यमबाट विवेकपूर्ण रुपमा समाधान खोज्नु पर्ने बताउँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले ओली वैठकमा आउनै पर्छ, आफ्ना कुरा स्पष्ट राख्नुपर्छ । अरुका कुरा पनि सुन्नुपर्छ ।’
प्रवक्ता श्रेष्ठले ओलीको राजीनामाका विषयमा औषचारिक रुपमा कुरा नउठेको स्पष्ट पारेका छन् । तर उनले पार्टी एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निष्कर्ष निकाल्नुर्ने बताएका छन् ।
‘पार्टी र सरकार दुवै राम्रोसँग चलाउन र सच्याउनका लागि प्रधानमन्त्रीको राजीनामाका विषयमा व्यक्तिगत विचारहरु प्रकट भएका छन्, तर पार्टीको औपचारिक प्रस्ताव भने होइन,’ उनले भने । यस बिषयमा पनि पार्टीको बैठकले निष्कर्ष निकाल्नु पर्ने उनको भनाइ छ ।
पार्टीको मार्ग निर्देशन अनुसार सरकार चल्ने र सरकारको दैनिक कामकाजमा पार्टी हस्तक्षेप गर्न नहुने समेत उनले बताएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारमा संविधान र कानून अनुसार हुने काममा भनसुन र घुस खुवाउनु नपर्ने अवस्थाको सिर्जना गराउनु पनि जरुरी रहेको उनको भनाइ छ । पहुँचको आधारमा भन्दा निष्ठावान र क्षमतावान व्यक्तिले जिम्मेवारी पाउनुपर्ने धारणा श्रेष्ठले व्यक्त गरेका छन् ।
पार्टीभित्रको अहिलेको अलमललाई निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने श्रेष्ठको भनाइ छ ।