काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा राजनीतिमा अपराधीकरण हुनुहुँदैन भन्ने गर्दछन् । नेपाली कांग्रेसले गुण्डानाइकेहरुलाई चुनावमा उम्मेदवार नबनाउने भाषण समेत गर्न उनले गर्दैआएका छन् । तर कांग्रेस पार्टीकै गृहमन्त्री बालृकष्ण खाँण भने गुण्डानाइकेसँग उठबस गर्न किञ्चित लज्जा मान्दैनन् भन्ने उदाहरण शनिबार काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा दावा लामा भन्ने जीतेन्द्रमान तामाङले आयोजना गरेको कार्यक्रममा देखिएको छ ।
प्रहरीको सूचीमा पटके अपराधमा संलग्न गुण्डानाइके लामासँग एउटै मञ्चमा बसे, पोजपोजका फोटो खिचाएको दृश्य समेत उक्त कार्यक्रममा देखियो । गृहमन्त्री खाँणले कार्यक्रममा गृहमन्त्री खाँणलाई खादा लगाएकादेखि विभिन्न खालका फोटो सार्वजनिक भएका छन् ।
नेपाल तरुण दल काभ्रेको आयोजनामा रोयल बैंक्वेटमा भएको भेलामा दावा लामासँग गृहमन्त्री खाँण र दावा लामा एउटै मञ्चमा मात्र बसेनन् । कार्यक्रममा फोटोसेसन पनि खुलेरै गरेका छन् । दावा लामा पछिल्लो समय कांग्रेसमा सक्रिय छन् । प्रहरीको नजरबाट बच्न राजनीतिको ओत लाग्न पुगेका लामा तरुण दल काभ्रेका पूर्व कार्यवाहक सभापति र हाल भुम्लु गाउँपालिका कांग्रेसका अध्यक्ष हुन् ।
काभ्रे जिल्लामा बुद्धचित्त संकलनका साथै ठेक्कापट्टा, जवर्जस्ती असुली, चन्दा आतंक, कुटपिट, अपहरणलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको उजुरीका कारण दावालाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाहीसमेत गरिसकेको छ । तर, काभ्रेबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थबहादुर लामासहितका कांग्रेसी नेताहरूको दबाबका कारण दावाले उन्मुक्ति पाउँदै आएको पीडितहरुको गुनासो रहँदैआएको छ ।
ठमेलमा ब्यवसायी राम गिरीमाथि दावा लामाले २०७३ माघमा आक्रमण गरेका थिए । सो आक्रमणपछि काभ्रेली गुन्डा नाइके दावा लामालाई जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंले दावा र प्रवीण खड्कालाई व्यवसायी राम गिरीलाई दरबारमार्गमा ज्यान मार्ने उद्देश्यले सामूहिक रुपमा सांघातिक आक्रमण गरेको भन्दै अदालतमा हाजिर गराएको थियो । त्यतिबेला दावा राजनीतिक पहुँचमा छुटेका थिए । उनी दोस्रो संविधानसभा चुनावपछि काभ्रे कांग्रेसका सभापति तथा पूर्वसांसद तीर्थ लामामार्फत् कांग्रेसको राजनीतिमा लागेका हुन् ।
त्यस लगत्तै भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहेका दावा लामा (जितेन्द्रमान तामाङ) माथि २०७३ चैत २८ मा गौरीघाटस्थित दिव्य पार्टी प्यालेसमा गोली प्रहार भयो । उक्त गोली प्रहार राम गिरीको समूहले गरेको अनुमान गरिएको थियो । नेपाल प्रहरीको सूचीमा दावा लामा अपराधिक गतिबिधिमा संलग्न पटके गुण्डा हुन् । उनी पटक पटक जेलमा पर्ने र छुटेपछि गुण्डागर्दीमै संलग्न हुने भनेर चिनिन्छन् ।
पछिल्लो समयमा दावा लामा अरु व्यवसाय छाडेर क्यासिनोमा मिटरब्याजमा पैसा लगाउने व्यवसायसमेत लागेका थिए । खुकुरीकाजीका नाममा चिनिने आङकाजी शेर्पा र प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेमार्फत् दावा अपराध दुनियाँमा प्रवेश गरेका हुन् ।
दावाले केही समय देखावटी रुपमा रेष्टुरेन्ट व्यवसाय पनि चलाए । मिटरब्याजबाट अकुत कमाउन थालेपछि रेष्टुरेन्ट बन्द गरे । र, उनले प्रहरीका केही उच्च अधिकारीहरुको पैसा पनि मिटरब्याजमा लगाउन थालेका थिए ।