Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन


    शुक्रबार, भाद्र २४ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । 

    शुक्रवार काठमाडौंको हनुमानढोका गददी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति थियो । 

    इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजापाठ गरेकी थिइन् । वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । 

    यसैदिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् । 

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

     यसरी लिङ्गो ठडयाइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार