Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछः मन्त्री कार्की 


    शुक्रबार, भाद्र २४ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएकी छन् । 

    निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताए ।  नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढ्न निजी क्षेत्रलाई पनि आह्वान गरे । निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उनको भनाइ थियो । 

    मन्त्री कार्कीले भने–‘अहिले नेपाल निर्वाचनको संघारमा छ ।  नेपालको संविधान २०७२ को कार्यान्वयनमा आएपछि यो ७ वर्षको अवधिमा राजनीतिक क्षेत्रमा निकै काम भए । संघ, प्रदेश र स्थानीय तहका संरचना तयार भए । तीन वटै तहका जनप्रतिनिधिहरुको आफनो एक कार्यकाल पूरा गरिसकेका छन् । यसबाट राजनीतिक रुपमा जग बसेको छ । अब हामीले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । आसन्न निर्वाचनपछि हाम्रो सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछ । सरकार र निजी क्षेत्रको  आपसी सहयोग, समन्वय अनि प्रतिवद्धता यसका लागि चाहिन्छ । आउनुहोस् हामी हातेमालो गरी देश विकासको साझा लक्ष्यमा अगाडि बढौं ।’    
          
    मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताए । पूर्वाधार विकास र उत्पादन बृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफना उपकरणहरुको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री कार्कीले भने–‘केही समय अगाडि गरिएको एउटा अध्ययनले नेपाल कुल ग्राहस्र्थ उत्पादनको सरकारको एक्लो प्रयासमात्रै पूर्वाधारका लागि आवश्यक लगानी हुन सक्दैन । यसमा स्वेदशी तथा विदेशी निजी क्षेत्रको सहयोग हुन जरुरी छ ।

    सरकार र निजी क्षेत्रको साझा प्रयासले पूर्वाधार लगानी सजिलै बढाउन सकिन्छ भन्ने मेरो धारणा छ । लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको विश्वास दिलाउन चाहन्छु ।  हामीले अपनाई आएको आर्थिक नीतिले सरकारलाई आधारभुत आधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार बिस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको छ । आवधिक योजनाहरुले आँकलन गरे अनुसार पनि नेपालको कुल लगानी करिब ६० प्रतिशत निजी क्षेत्रबाट नै हुने गरेको छ । तसर्थ, पूर्वाधार विकास र उत्पादन बृद्धिमा यहाँहरुको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफना उपकरणहरुको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको छ । यहाँहरुलाई थाहा नै छ । 

    देश विकासका लागि पूर्वाधार विकास र बिस्तार मात्रै साध्य होइन ।  ती त साधन मात्र हुन् । तर साधनको गुणस्तर भएन भने, तिनको उपयोग सहज भएन भने र जुन उद्देश्यका साथ पूर्वाधार विकास गरिएको सोको सदुपयोग हुन सकेन भने त्यसले उचित प्रतिफल दिन सक्दैन ।  त्यसैले पूर्वाधारको गुणस्तर, सहज प्रयोग र पूर्ण उपयोगमा समेत ध्यान दिन म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

    त्यस अवसरमा मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार