काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छाँया सेन्टरमा भएको घटनाबारे जनस्तरबाट आएका प्रतिक्रियामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
क्यानडा जानका लागि बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्न पुगेका आइतबार छायाँ सेन्टरमा रहेको भीएफएसमा गएका मन्त्री श्रेष्ठलाई लाइनमा लाग्नु भन्दा सुरक्षागार्डलाई प्रहरी बोलाएर थुनाएको घटनाको सामाजिक संजाल फेसबुक, ट्वीटरमा बिरोध भएपछि सोमबार बिहान उनले उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् । उनले लाइनमा बस्ने नबस्ने कुराले भीएफएसका सुरक्षागार्ड नथुनिएको उल्लेख गरेका छन् । आफू र पीएसओमाथि दुब्यर्वहार गरेकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको प्रष्ट पारेका छन् ।
मन्त्री श्रेष्ठ लेख्छन्–‘छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो ।
घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सवै नेता र मन्त्री खराव हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’