काठमाडौं । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं साधारण सभा हिजो सम्पन्न भएको छ। साधारण सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।
पञ्चशीलले आर्थिक बर्ष ०७८/०७९ मा दुई करोड २८ लाख ९७ हजार ४७७ रुपैयाँ आयकर तथा अन्य विभिन्न शीर्षकहरूमा राजस्वमा योगदान गरेको बताइएको छ।
संस्थाले समय समयमा शेयर सदस्यहरूलाई विभिन्न सीपमुलक तालिम दिने, अन्तर्क्रिया गर्ने लगायतका कार्यहरू गर्दै आइरहेको छ।
कार्यकारी प्रमुख खतिवडाका अनुसार सदस्यहरूलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमुलक कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्यसहित संस्थाले आव २०७७/०७८ देखि एटीएम, मोबाइल बैङ्किङ, क्युआर कोडको सुविधा दिइरहेको छ।
संस्थाका सचिव घनश्याम धमलाले सञ्चालन गरेको सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष केबी उप्रेतीले राज्यको तीन खम्बे अर्थनीतिमध्ये एक खम्बा सहकारी क्षेत्र भएको उल्लेख गर्दै राज्यको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ पञ्चशीलअघि बढिरहेको बताए।
समसामयिक विषयमा कुरा राख्दै अध्यक्ष उप्रेतीले वर्तमान चुनौतीलाई सामना गर्दै आगाडि बढ्दै भावी दिनमा यस क्षेत्रमा प्राप्त हुने अवसरको बारेमा प्रकाश पारे।