काठमाडौं । मु्स्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराधी भगाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले अपराधीसँग साँठगाँठ भएका अन्सारीलाई संवैधानिक आयोगको अध्यक्ष बनाएको घटना शुक्रबार अन्सारीले आयोगको गाडीमा अभियुक्त भगाएपछि पुष्टि भएको छ ।
दुबईबाट आएका ठगी मुद्दाका फरार अभियुक्तलाई आयोगले बोलाएको पाहुना भन्दै अन्सारीले भगाएका हुन् । अभियुक्तलाई अन्सारीले भिआइपी कक्षमा लगी भगाएको आरोप छ ।
अध्यागमनले अपराधी पहिचान गरिसकेपछि पनि अन्सारीले आफ्नै गाडीमा राखेर भगाएका छन् । दुबईबाट नेपाल आएका ठगीमा संलग्न अभियुक्त सुनसरीका रिजवान आलमलाई शुक्रबार बिहान अन्सारीले विमानस्थलको भीआइपी कक्षबाट भगाएका हुन् ।
नेपाल मुस्लिम आयोगको निमन्त्रणामा शुक्रबार दुबईबाट ४ जना भीआइपी आउने कार्यक्रम थियो । फ्लाई दुबईको विमानबाट आउने भीआइपी लिन अन्सारी विमानस्थल गएका थिए । सोही विमानबाट काठमाडौं ओर्लिएका अभियुक्त रिजवानलाई अन्सारीले उनीहरुकै समूहमा सँगै भीआइपी कक्षमा लगेका थिए । अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेकजाँच गर्दा उनी कालोसूचीमा रहेको पाइएपछि उपस्थित गराइदिन भिआइपी कक्षलाई भन्यो । तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाएका थिए । रिजवानको पासपोर्ट विमानस्थलमै छ ।
भीआइपी कक्षबाटै अभियुक्त भाग्दा पनि पक्राउ गर्न नसक्ने विमानस्थलको सुरक्षा ब्यवस्थाको कमजोरी उदांगो पारेको छ । प्रहरीले शुक्रबार रातभर रिजवानको खोजी गर्दा पनि उनलाई फेलापार्न सकेको छैन । अभियुक्त भाग्नुमा विमानस्थल प्रहरीको पनि कमजोरी देखिएको छ । विमानस्थल प्रहरी प्रमुख श्याम ज्ञवालीले विमानस्थलमा प्रहरीलाई सतर्क राख्न नसक्दा अभियुक्त भाग्न सफल भएका छन् ।
पाइलट पढाइदिने भन्दै रिजवानले १ करोड ६८ लाख रुपैयाँ ठगी गरेका थिए । दाउद हुसेनलाई ठगी गरेकोबारेमा रिजवानविरुद्धको ठगी मुद्दा जिल्ला अदालत काठमाडौैंमा विचाराधीन छ । छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख रुपैयाँ लिएका थिए । तर, पढाउने व्यवस्था पनि नगरेको र पैसा पनि फिर्ता नदिएपछि गएको कात्तिक १ गते उनले प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए । अदालतले उनीविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ गर्न नसकेपछि प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो ।
रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई समेत गुहारेको थियो ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नागरिकताकै बारेमा नियुक्तिताका प्रश्न उठेको थियो । उनी बाराका हुन् । तर उनका बाबुबाजेको नागरिकता बारबाट छैन । उनले काठमाडौंबाट नागरिकता लिएका छन् । उनी तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए । एमालेमा २०७५ पछि मात्र आएका हुन् । संसदीय सुनुवाइ समितिमा उनका बिरुद्ध संगीन उजुरी परेका थिए । तर सुनुवाइ नै हुन नदिएर ओलीले अन्सारीलाई नियुक्त गरेका थिए ।