काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी सपत्नी र परिवारका छोराबुहारीसहित अमेरिका सयरबाट भदौ १५ गते फर्किएका छन् । १५ दिनअघि दलबलसहित उनी अमेरिका भ्रमणमा गएका थिए । सचिव मणिराम गेलाल, अमेरिकासँग सम्बन्ध र साइनो नै नभएको खानेपानी संस्थानका महाप्रबन्धक इश्वरप्रसाद र आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटासमेत भ्रमणदलमा थिए ।
संस्थानका महाप्रबन्धक इश्वर र आयोजना निर्देशनालयका प्रमुख सापकोटालाई पत्नी र छोराबुहारीको आतेजाते हवाई टिकट र पकेटमनीका रुपमा डलर समेत उपलब्ध गराएबापत मन्त्री चौधरीले भ्रमणदलमा समावेश गरेको स्रोतको दाबी छ ।
मन्त्रालयको प्रशासन महाशाखा स्रोतका अनुसार भ्रमण दलमा सहभागी मन्त्री चौधरी र सचिव गेलालको खर्च नेपाल सरकारले ब्यहोरेको छ भने अन्य सहभागीको खर्च आयोजना, संस्थान र ब्यक्तिगत रुमपा ब्यहोरिएको छ । रोचक पक्ष त के छ भने भ्रमण दलमा सहभागी भएबापत इश्वरप्रसाद र सापकोटाले मन्त्री चौधरीलाई आकर्षक घुससमेत बुझाएको चर्चा खानेपानी मन्त्रालयमा चलेको छ ।
पत्नी र छोराबुहारीलाई अमेरिका लैजाने कार्यक्रममा मन्त्री चौधरीले आयोजना, डिभिजनदेखि केन्द्रीय निकायसम्म चन्दा अभियान नै संचालन गरेको बताइन्छ ।
खानेपानी विभागका नवनियुक्त महानिर्देशक रमाकान्त दुवाडीले मन्त्री चौधरीको योजनामा साथ दिने बताउँदै अमेरिका भ्रमणपछि बाचा पूरा गर्ने सर्तनामा गरेको बुझिएको छ । यसो भनेपछि दुवाडीले मन्त्रीबाट छ्ुटाकारा पाएका थिए ।
मन्त्री चौधरीको अमेरिका भ्रमणबारे राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा स्वयम् खानेपानी मन्त्रालयले समेत सार्वजनिक गरेको थिएन । खानेपानी मन्त्री विदेश भ्रमणमा गएपछि कसले कार्यवाहक सम्हालेको छ र कसलाई दिइएको छ भन्ने जानकारी देशबासीेले पाउनसकेका छैनन् । परम्पराअनुसार जुन मन्त्री विदेश भ्रमणमा जाने हो ऊ भन्दा एक तहमुनिको पोर्टफिोलियोका अर्का मन्त्रीलाई कार्यवाहक दिनुपर्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक दिने परम्परा छ । तर कहिलेकाहीँ प्रधानमन्त्री आफैंले कार्यवाहक दिने पनि गरेका छन् । तर चौधरीका हकमा भने यो नियम लागू भएकोबारेमा सूचना कतै पनि देखिएको थिएन ।
खानेपानी मन्त्रालयको जानकारीपत्रका आधारमा प्रधानमन्त्रीले कार्यवाहक सिफारिस गर्ने वा तोक्ने प्रचलन हुनुपर्नेमा भएको जानकारी दिइएको छैन ।
मन्त्री चौधरीले अमेरिका भ्रमणमा लगेका छोराबुहारी भने अझै नफर्र्किएको स्रोतको दाबी छ । उनले छोराबुहारी उतै छाडेर आएको आशंका गरिएको छ ।