काठमाडौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ दोर्दि गाउँपालिका(१ भर्तेका ३८ वर्षीय नारायण प्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्त नारायण प्रसाद अधिकारीलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाईअन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन व्यूरोको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाईदिने भनी सर्वसाधारणसँग २५ र२५ सय डलर लिएर उनीहरूलाई दुबईमा राखेको र दुबईबाट लिविया हुँदै ईटाली लाने भनी लिवियाको शरणार्थी क्याममा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदुतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याईएको थियो । उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको प्रहरीले जनाएको छ ।