काठमाडौं । वीरगञ्जमा थप ७४ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका-११ श्रीपुरका मात्र ४६ जना संक्रमित रहेका छन् ।
संक्रमित हुने मध्ये एकजना पत्रकार पनि रहेको थाहा भएको छ । यस्तै एकजना बाराका हुन् भने बाँकी सबै वीरगञ्ज निवासी हुन्।
संक्रमितहरूमा अधिकांश २० देखि ४० उमेर समुहका छन्। केही संक्रमित भने ६० वर्ष माथिका पनि रहेको बताइएको छ।
थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। लक्षणविहीन अवस्थाका संक्रमितलाई भने घरको आइसोलेसनमा राखिने छ।
पछिल्लो समय वीरगञ्जमा दैनिक संक्रमण दर बढ्दो क्रममा रहेको छ। साउन महिना यता मात्र वीरगन्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ। वीरगञ्जमा संक्रमण समुदायमै फैलिएको बताइएको छ।
यस्तै पर्सा कारागारमा १२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यो सँगै पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७२ संक्रमित थपिएका छन् ।