काठमाडौं । आज साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण बिश्व नै आक्रान्त भइरहेको बेला सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । आजकै दिन घरघरमा क्वाँटी खाने प्रचलन छ ।
चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ ।
क्वाँटी खाने प्रचलन प्राय नेवार समुुदायमा रहेको भए पनि अहिले सबैतिर लोकप्रिय बनेको छ ।कृषि प्रधान देश नेपालमा असार साउनमा खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहनेविज्ञहरु बताउछन् ।खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण यो मौसममा क्वाँटी खाने चलन रहेकोछ ।