काठमाडौं । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ ।
आइतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको उदघाटन गरिएको हो ।
उदघाटनपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, सम्पूर्ण तयारी र प्रतियोगिताको अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट हुने जानकारी दिए । मन्त्री गहतराजले संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको बताए ।
उदघाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेश लागि परेको बताए । सफल बनाउनका लागि प्रदेश सरकारलाई सहयोग गर्ने र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढने प्रतिवद्धता जनाएका छन् ।
सचिवालय उदघाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न भनेकै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसावले साथ सहयोगमा गर्ने बताए ।
प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ भने केही खेल काठमाडौंमा आयोजना हुने सम्भावना पनि रहेको छ ।