Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचार अन्त्य नभइ दिगो विकास सम्भव छैनः प्रदेश सांसदहरु


    आइतबार, भाद्र ५ २०७९
    870
    Shares
  • ९ मिनेट पाठ
  • काठमाडौं । प्रदेश सभा सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन् । 

    आईतवार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन । उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । कार्यक्रममा प्रदेश सभा सांसदहरुले सरकार र जनप्रतिनिधिहरुले आफना जिम्मेवारीलाई पूरा गर्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए । उनीहरुले आफनो पार्टीको सरकार रहँदा गलत कुराहरुको बारेमा पार्टीका सांसदहरुले बोल्न नपाउने वा पार्टीको अनुशासन विपरित ह्वीप लाग्ने जस्ता नीतिका कारण पनि कतिपय समस्या बढदै गइरहेको धारणा राखे । नीति निर्माण गर्ने र वकालत गर्ने कुरामा बढी जोड दिँदा कार्यान्वयनको प्रभावकारीतामा पहल हुन नसकेको र त्यसकै कारण पनि कतिपय दिगो विकासका लक्ष्य पूरा गर्न नसकिएको सांसहरुको बुझाई छ । कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा ल्याउन नसकेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताउनु भयो । उहाँले सरकारमा रहँदा र जनप्रतिनिधिबाट चुनिएर आएपछिका आफना काम, कर्तव्य र जिम्मेवारीलाई बुझन आवश्यक रहेको बताउनु भयो । सांसद साहले दिगो विकास लक्ष्य प्राप्तिको दायित्व साझा भएकोले आफनो भुमिकालाई गौण नगरी प्राथमिकता छुटयाएर अघि बढन सुझाव दिनुभयो ।  

    उहाँले भन्नुभयो, ‘प्रवृत्ति र प्राथमिकतालाई जबसम्म हामीले व्यवहारमा ल्याउँदैनौँ तबसम्म दिगो विकास जस्तै अन्य लक्ष्यहरु पनि पूरा हुन सक्दैनन । हामीले आफनो जिम्मेवारीलाई कसरी निभाउने भन्नेकुरा बुझन आवश्यक छ । लक्ष्य प्राप्तिको दायित्व साझा दायित्व हो । हामी सबैले आफनो भुमिकालाई गौण नगरी अघि बढनुपर्छ । हामीले प्राथमिकता छुटयाउन सकेनौँ ।’

    कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले प्रदेश सभा सदस्य स्वतन्त्र रहन नसकेको गुनासो गर्नुभयो । उहाँले संसदमा प्रश्तुत हुँदा जनताको प्रतिनिधि हौँ भनेर महशुस नगरेसम्म जनताका समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताउनु भयो । उहाँले आफनो पार्टीको सरकार भएको बेला उसले गलत कदम उठाए पनि गलत हो भन्न नसक्ने स्थिति रहेको भन्दै नीति निर्माण नै परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । सांसद तिवारीले संसदमा रहँदा बनाएका कानूनहरु सबैभन्दा पहिला संसद र सरकारबाट नै लागू गर्नुपर्ने बताउनु भयो । उहाँले महिलाको उपस्थिति हुनैपर्ने संविधानको व्यवस्था भएपनि मधेस प्रदेश सरकारले आजसम्म मन्त्रीपरिषदमा महिला मन्त्री नबनाएको भन्दै प्रदेशलाई नमूना प्रदेशको संज्ञा दिनुभयो । उहाँले सरकारमा पुगेपछि कार्यान्वयन गर्ने बेलामा सिद्धान्त नचाहिने तर बोल्ने र लेख्ने बेलामा मात्रै सिद्धान्तलाई अघि सार्ने कुराको समाधान नखोजेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी प्रदेश सभा सदस्य स्वतन्त्र रहँदैनौँ । पार्टीको ह्वीप भित्र नै रहने गरेका छौँ । त्यसले गर्दा पक्ष र विपक्षमा अलि धेरै गफ गर्छौं । हामी जबसम्म संसदमा प्रश्तुत हुँदा जनताको प्रतिनिधि मात्र हौँ भनेर महशुस गर्दैनौँ, तबसम्म यी समस्याहरु खुलेर बोल्नपनि सकिँदैन र निकास पनि निकाल्न सक्दैनौँ । मेरो पार्टीको मन्त्री छ भने मैले बिरोध गर्ने बित्तिकै स्पष्टीकरण सोधिन्छ । स्वतन्त्र भएर हामी त्यो गल्ती हो भनेपनि भन्नसक्ने अवस्थामा छैनौँ । गलत कुरालाई चाहेर पनि व्यक्त गर्न नपाइने हो भने हामीले चाहेको लक्ष्य पूरा गर्न सक्दैनौँ । संसदमा बोलेको कुराबाट हामीलाई फिर्ता बोलाउन सकिन्छ भने कसरी बोल्ने ? साँच्चै नै लक्ष्य पूरा गर्ने हो भने नीति नियम नै सच्याउनु पर्छ । हामीले बनाएका कानून पहिला हामीबाट नै लागू गरौँ । यो नमूना प्रदेश हो, जहाँको मन्त्रीपरिषदमा महिलाको उपस्थिति भएन । महिला र पुरुषबीच नै समानता हुन सकेन । काम गर्ने बेलामा कुनै सिद्धान्त चाहिएन । त्यसैले यहाँ लेख्ने, बोल्ने बढी र कार्यान्वयन गर्ने कम प्रवृत्ति छ । त्यसले नै दिगो विकासमा पनि अवरोध गरेको छ ।’

    कार्यक्रममा मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संविधानमा उल्लेखित भाषाका कारण कतिपय विवाद लम्बिँदै गएको बताउनु भयो । उहाँले संविधानमा दुई अर्थ लाग्ने भाषा प्रयोग गरिएको र जसले विवादका तानिरहेको उल्लेख गर्दै संविधान स्पष्ट हुन र संविधानको व्याख्या हुँदा पनि एक किसिमको ठोस व्याख्या हुन जरुरी रहेको बताउनु भयो । उहाँले संघीय सरकारले कानून निर्माणको वातावरण नदिएका कारण प्रहरी समायोजन, निजामति ऐन बनाउन नसक्दा समावेशी प्रतिनिधित्व हुन नसकेको दाबी गर्नुभयो । सांसद यादवले दिगो विकासको विषयमा गहन अध्ययन गरेर राष्ट्रप्रति जिम्मेवार भएर काम गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । संसद सहयोग परियोजना युएनडीपीको सहयोगमा मधेस प्रदेशको प्राकृतिक श्रोत तथा वातावरण समितिले जनकपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले विकासका लागि छुटटै बजेट कहाँ र कति भन्ने हिसावबाट मापदण्ड बनाएर वितरण गर्न आवश्यक रहेको बताउनु भयो । जनता समाजवादी पार्टीका सांसदसमेत रहनुभएका यादवले ६० लाखमा सांसदको टिकट किनबेच हुने र मन्त्री बन्न करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था सिर्जना भएकोले भ्रष्टाचार समाप्त गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार समाप्त नभइ समृद्धितिर जान नसक्ने उल्लेख गर्दै सुशासन कायम गर्ने हो भने जनप्रतिनिधि, राजनीतिकर्मीे, कर्मचारी, नागरिक समाज, पत्रकार र व्यापारी सबैको सम्पति छानबिन हुनुपर्ने माग राख्नुभयो ।

    उहाँले भन्नुभयो, ‘संविधानमा राष्ट्रिय वन प्रदेश सरकार मातहत हुन्छ भनिएको छ । फेरि कुनै अर्को प्रदेशसँग जोडिए राष्ट्रिय वनमा जान्छ भनिएको छ । यस्तो भाषाको खेलहरु गरिएको छ । जसकारण हामी विवादमा धेरै आइरहेका छौँ । त्यसकारण हाम्रो संविधान स्पष्ट हुनुपर्छ । व्याख्या हुँदा एक किसिमको ठोस व्याख्याको रुपमा अघि बढनुपर्छ । संघीय सरकारले कानून निर्माणको वातावरण नदिएका कारण प्रहरी समायोजन, निजामति ऐन बनाउन नसक्दा समावेशी प्रतिनिधित्व हुन सकेको छैन । हामीले दिगो विकासको विषयमा गहन अध्ययन गरेर राष्ट्रप्रति जिम्मेवार भएर काम गर्नुपर्छ । विकासको लागि कति बजेट कहाँ दिने हो त्यसको मापदण्ड बनाउनु पर्छ । ६० लाखमा टिकट किनबेच हुन्छ अनि तपाई सुशासनको कुरा गर्नुहुन्छ ? करोडौं रुपैयाँ मन्त्री बन्नको लागि खर्च हुन्छ, यसको बिरोधमा आवाज उठाउनु पर्छ । भ्रष्टाचार समाप्त नभइ हामी समृद्धितिर जान सक्दैनौँ । वास्तवमै सुशासन कायम गर्ने हो भने जनप्रतिनिधि, राजनीतिकर्मीको, कर्मचारीहरुको, नागरिक समाज, पत्रकार, व्यापारी सबैको सम्पति छानबिन हुनुपर्छ ।’

    कार्यक्रममा जनता समाजवादी पार्टीका सांसद कौशल यादवले भ्रष्टाचारका लागि राजनीति गर्ने व्यक्तिहरुबाट दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताउनु भयो । उहाँले देशको प्रधानमन्त्रीमा आफनै शरीरको हेरचाह गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिएपछि कुनैपनि लक्ष्य पूरा हसन नसक्ने जिकिर गर्नुभयो । उहाँले वृद्ध नेताहरुबाट अब आफनो लागि मात्रै वृत्ति विकास हुने तर दिगो विकासका लक्ष्य पूरा नहुने बताउनु भयो । सरकार नै ठिक ढंगले नचलेपछि सुशासन कायम हुन नसक्ने दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘त्यही व्यक्तिलाई बढी भन्दा बढी मन्त्री, प्रधानमन्त्री बनाइएको छ । जसको मेमरी त छ चिप्स त्यसमा गएको छैन । दिमागले काम गर्दैन । त्यस्तो व्यक्तिहरुले सधैँ प्रधानमन्त्री, मन्त्री बनेभने आफनो विकासमा कमी हुँदैन तर दिगो विकासमा सधैँ कमी हुन्छ । जुनियरले सिनियर मन्त्रालय पाएको भनेको हातको सफाइले पाएको छ । घरको मुखिया, सरकार नै ठिक छैन भने कसरी सुशासन कायम हुन्छ ?’

    कार्यक्रममा अन्य विज्ञहरुले भ्रष्टाचार मुक्त समाजको परिकल्पनाबाट नै दिगो विकासको लक्ष्य पूरा हुने बताएका छन । सरकारले भ्रष्टाचारलाई निर्मुल नगरी कुनैपनि लक्ष्य पूरा गर्न नसक्ने उनीहरुको भनाइ छ । नागरिकहरुले पनि भ्रष्टाचार र असामाजिक व्यवहार स्वीकार्न नसक्ने भन्दै भ्रष्टाचार निर्मुल पारी तोकिएको समयसीमा भित्र नै दीगो विकासको लक्ष्य प्राप्त गर्नुपर्ने धारणा राखेका छन । कार्यक्रममा मधेस प्रदेश सभाकी उपसभामुख उपमाकुमारी देवीले प्रदेश सांसदहरुले सुशासन अनुगमनमा आफनो भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार