काठमाडौं । बैदेशिक रोजगारीका लागि यूरोपियन मुलुक ग्रिसमा मानवतस्करी गर्ने गिरोहबाट थुप्रै नेपाली युवाहरु ठगिन पुगेका छन् । ग्रिसमा कृषि क्षेत्रमा रोजगारी दिलाइदिने भनेर नक्कली भिसा देखाउँदै ठगीधन्दा गर्ने गिरोहले सुरुमा यूएईको दुबई लाने गरेको छ ।
मासिक १ लाख ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएर नेपालीलाई ग्रिसमा लाने गिरोहले नेपाली युवाहरुलाई दुबईमा भिजिट भिसामा लाने र त्यहाँ अलपत्र पार्ने गरेको छ । कृपा भन्ने परशुराम खड्काले ग्रिसको आकर्षक रोजगारीको प्रलोभन देखाएर नक्कली भिसा देखाउँदै प्रतिब्यक्ति ८ लाख रुपैयाँ लिने र दुबईमा अलपत्र पारेका युवाहरु काठमाडौंमा फर्किएर न्याय माग्दै दैनिक बैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । तर विभागले ती युवाहरुको उजुरी लिनेबाहेक ठगी गर्नेहरुलाई कारबाही गर्न चासो नै नदिएको गुनासो पीडित युवाहरुको छ ।
झापाको साविक अनारमनी वडा ५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने परशुराम खड्का नै ठगी गिरोहका मूल नाइके भएको खुलेको छ । खड्काले दुबईमै बसी नेपालीलाई ग्रिसमा लाने भनेर ठगीको संजाल चलाएका छन् । अहिलेसम्म पच्चीसौ जना युवालाई खड्काको गिरोहले ठगी गरेको छ । खड्काले ग्रिसको रोजगारीका नाममा ठगी गर्नका लागि काठमाडौंमा उमेश सार्कीलाई समेत परिचालन गरेका छन् ।
सिन्धुली तीनपाटन गाउँपालिका ५ का उमेश सार्कीले खड्काको निर्देशनमा ग्रिसमा पठाउने भनेर पैसा लिने गरेको पीडितहरुले बताएका छन् । ह्वाट्सएप, भाइबर जस्ता सामाजिक संजालमार्फत् दुबईमा बसेर खड्काले ठगी संजाल संचालन गरेका छन् ।
परशुराम खड्काको गिरोहले ग्रिसमा रोजगारी दिलाउने भनेर भोजपुरको षडानन्द नगरपालिका १२ का सुवास खत्री र यु्वराज खड्कासँग प्रतिब्यक्ति ८ लाख लिएको छ । भोजपुरकै अरुण गाउँपालिका ७ घर भएका कृष्ण अधिकारीसँग पनि ग्रिसकै रोजगारीका नाममा खड्काले ८ लाख रुपैयाँ लिएका छन् । संखुवासभा खाँदबारीका राजन श्रेष्ठ, विकास खत्री, खगेन्द्र थापा मगर र सुदूरपश्चिमका शिव साउदले खड्काबिरुद्ध बैदेशिक रोजगार बिभागमा उजुरी दर्ता गरेका छन् । दर्ता नम्बर ६८ रहेको उक्त उजुरीमा खड्काका नाममा पक्राउ पूर्जी जारी गर्नेबाहेक विभागले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ । ठगी गिरोहका नाइके परशुराम खड्का परिवारसँग नियमित सम्पर्कमा रहेका छन् ।
ठगिएका मध्येका सुवास खत्रीले भने–‘खड्काको परिवार भक्तपुर सूर्यविनायकमा बस्छ, उनले नेपालमा ठगीका लागि चलाउने गरेको ह्वाटसएप नम्बर समेत उजुरीमा उल्लेख गरेर दिएका छौं । तर बैदेशिक रोजगार विभागले उसलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।’

खड्काले २०७८ फागुन १८ मा ग्रिसमा पठाउनका लागि सुवास खत्री, युवराज खड्का र कृष्ण अधिकारीसँग प्रतिब्यक्ति ८ लाख रकम लिएको कागज पनि गरेका छन् । जसको साक्षी सिन्धुली तीनपाटन गाउँपालिका ५ का उमेश सार्की र सुनसरीको इटहरी उपमहानगरपालिका १ का लोकेन्द्र अधिकारीलाई राखिएको छ । सार्की त खड्काले काठमाडौंमा रकम लिन र भिजिट भिसामा दुबई पठाउन सेटिङका लागि राखिएका पात्र हुन् ।
बैदेशिक रोजगारीमा पठाउने भनेर गरेको कागजका आधारमा खड्कालाई पक्राउ गर्न उनी फरार भई दुबईमा बसेका भए पनि उनले राखेका उमेश सार्कीलाई समेत विभागले कारबाहीको दायरामा ल्याउन नसकेको गुनासो पीडितको छ ।
सार्कीलाई पक्राउ गर्ने हो भने परशुराम खड््काको गिरोहको पर्दाफास हुने पीडितको भनाइ छ । तर विभागले भने उनीहरुलाई पक्राउ गर्न चासो नै नदिएको गुनासो उनीहरुले गरेका छन् ।
पीडितहरुले परशुराम खड्काले अहिले पनि थुप्रै नेपालीलाई ग्रिसको रोजगारीका नाममा ठगी गरिरहेकाले उसलाई कारबाही गराउने, प्रहरीमार्फत् रडकर्नर नोटिस नै जारी गराउनेतर्फ पहल गर्नुपर्ने बताए । पीडितमध्येका एक युवराज खड्काले भने–अहिले पनि ग्रिसमा रोजगारी दिलाउने भनेर प्रतिब्यक्ति ८ लाखदेखि १० लाख सार्कीमार्फत् खड्काले काठमाडौंमा उठाइरहेको बताए । उनले भने–‘खड्काले करोडौं ठगी गरिरहेको छ, तर विभागले चासो नै दिएको छैन ।’
ग्रिसको रोजगारी देखाएर दुबईमा लगेर अलपत्र पार्ने
परशुराम खड्काको गिरोहले सुवास खत्री, युवराज खड्कासहितका युवाहरुलाई २०७९ जेठ ११ (मे २५) मा ग्रिस लाने भनेर भिजिट भिसामा दुबई उडाए । मानवतस्कर परशुराम खड्का र उमेश सार्कीको ठगीको शिकार भएका र दुबईबाट नेपालीले चन्दा उठाएर उद्दार गरी नेपालमा आउन सफल भएका युवराज खड्काले भने–दुबईमा लगेर सुरुमा डेढ महिना राखे । डेढ महिनापछि कृपा भन्ने परशुरामले रविन उप्रेतीलाई जिम्मा लगाए । उप्रेतीले १ महिना राख्यो । दुबईमा अलपत्र परी नेपाल फर्किएका पीडित युवराज खड्काका अनुसार रविन उप्रेतीकोमा डेढ महिना राखे, तर पनि पनि ग्रिस उडाउन सकेनन् । ग्रिस उडाउँछु, मन्टिनिग्रो भएर जानुपर्ने रहेछ, मन्टिनिग्रो दूताबासले १ सय ६० दिनार तिर्नुपर्ने रहेछ भन्दै अर्का ब्यक्ति आए । ती ब्यक्ति बुझेर आउँछु भनेर फरार भए । त्यसपछि उप्रेती पनि गायब भएपछि आफूहरु अलपत्र परेको खड्काले बताए । उनले भने–दुबईका नेपाली दाजुभाइले चन्दा उठाएर एक हप्ता राखी चन्दाकै रकमबाट हवाई टिकटको ब्यवस्था गरेपछि नेपाल आउन सफल भयौं ।
७ महिनाअघि आकर्षक रोजगारीको आशामा ८ लाख रुपैयाँ बुझाएका खड्काले रुँदै भने–ग्रिसमा रोजगारी पाउने आशामा ऋण गरेर ८ लाख बुझायौं, रकम पनि गुम्यो । बैदेशिक रोजगार विभागमा रकम असुली हुन्छ भनेर उजुरी गरेका छौं । तर ठगी गर्नेमध्येका सार्कीहरु काठमाडौंमै निर्धक्क घुमिरहेका छन् । विभागले पक्राउ गर्न सकेको छैन । ठगी गिरोहको नाइके परशुराम खड्का उमेश सार्की र परिवारसँँग नियमित सम्पर्कमा रहेका छन् । तर पनि खड्कालाई पक्राउ गर्न विभागले चासो दिएको छैन । ठगलाई कारबाही गर्नका लागि पनि पहुँच र प्रभाव भएको हुनुपर्ने रहेछ ।’
निर्देशक भूसाल भन्छन्–ठगी गर्नेमाथि कारबाही हुन्छ
बैदेशिक रोजगार विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक कृष्णप्रसाद भूसालले भने–‘ग्रिसमा लाने भनेर म्यानपावरले ठगी गरेको होइन होला । ब्यक्तिगत रुपमा ठगी गरिएको हुनसक्छ । ब्यक्तिगत ठगीमा मुद्दा शाखाले हेर्छ । स्वदेशमा छ भने बोलाएर ठगिएको रकम दिलाउने र छैन भने मुद्दा दायर हुन्छ । बैदेशिक रोजगारमा पठाउँछु भनेर ब्यक्तिगत रुपमा रकम र पासपोर्ट लिन पाउँदैन । यदि त्यसरी ठगी भएको रहेछ भने कडा कारबाही हुन्छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend