काठमाडौं । कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ । गिरीको पारिवारिक स्रोतका अनुसार निमोनियाले गम्भीर अवस्थामा पुगेपछि उनलाई बिहीबार बिहानदेखि भेन्टिलेटर सपोर्टमा राखिएको छ ।
गिरी केही समयअघि भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्किएपछि उनमासामान्य न्यूमोनिया देखिएकाले मेडिसिटी अस्पताल भर्ना भएका थिए । अस्पतालले सुरुमा स्वास्थ्य अवस्थामा सुधार आएको बताएको थियो । तर, अहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको छ ।
पारिवारिक स्रोतका अनुसार बिहीबार नै गिरीको डायलासिस पनि भएको छ । त्यसबाट रगतमा सुधार देखिएको मेडिकल टिमले बताएपनि निमोनिया र क्यान्सरको दोहोरो आक्रमणका कारण उनको अवस्था थप कमजोर बनिरहेको छ ।
गिरीको स्वास्थ्य अवस्था जटिल बनेर भेन्टिलेटरमा राखिएपछि कांग्रेस नेताहरु स्वास्थ्यलाभको कामना गर्न मेडिसिटी अस्पताल पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी गएका थिए । कांग्रेस नेता बिमलेन्द्र निधि पनि गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।