काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल शुरु गरेको छ ।
सोमवार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल शुरु भएको हो ।
चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल शुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतीहरु के–के हुन् ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि उनले बताए ।
केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहनेगरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृहमन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौती र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताए ।
प्रवक्ता पोखरेलले भने–‘खासगरी मंसीर ४ गते हुने निर्वाचनको सन्दर्भमा कसरी व्यवस्थापन गर्ने, तयारी के गर्ने भन्ने विषयमा प्रारम्भिक बैठक भएको हो । केन्द्रीय निर्वाचन सुरक्षा योजना बनाउँछौं हामीले । प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना भनेर हामीले सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहनेगरी सुरक्षा योजना बनाउँछौं । त्यसमा हाम्रो जनशक्ति कति चाहिन्छ ? त्यसको आँकलन पनि गरिन्छ । त्यसपछि निर्वाचनका चुनौतीहरु के–के हुन् ? त्यसलाई सामना गर्ने उपायहरु पनि नीति तय गर्छौं ।’
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।