Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचारको आरोप लागेका एम्बुलेन्स चालकको म्याद थप्न उपमेयर हरिप्रभा खड्गीको चर्को दबाब


    शुक्रबार, साउन १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • भक्तपुर । भ्रष्टाचारको आरोप लागेका भक्तपुर अस्पतालका एम्बुलेन्स चालकको म्यादथप गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतका नेताले दबाब दिएका छन् ।

    अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका बा २ झ ३९९८ नंको एम्बुलेन्स चलाउँदै आएका कृष्णराम कोजुलाई विभिन्न शीर्षकमा अनियमितता गरेको भन्दै अस्पतालले दुई महिनादेखि एम्बुलेन्स चलाउन रोक लगाएपछि म्यादथप गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख खड्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई दबाब दिनुभएको बताइएको छ ।

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वका अस्पतालको अवस्थाबारे जानकारी लिन गएको छड्के अनुगमनमा कर्मचारीले उपप्रमुख खड्गी, काँग्रेस स्थानीय नेतादेखि प्रदेशसभा सदस्य समेतले दबाब दिएको जानकारी गराएका थिए ।

    अस्पताल परिसरमा एक कर्मचारीले भने, “भक्तपुर अस्पताल एउटा एम्बुलेन्स चालकले हल्लाएका छन्, उनले गरेको अनियमितता रोक भन्नुपर्नेमा उल्टै काठमाडौँ कि उपप्रमुख हरिप्रभा खड्गी, काँग्रेसका सांसदले उसलाई कुनै हालतमा राख्नैपर्छ भनेर दबाब दिन्छन्, काँग्रेसका यहाँका नेताले त अस्पतालमै आएर दबाब दिएर गएका छन्, अनि अस्पताल के राम्रो हुन्थ्यो ।”

    अनुगमनमा जिसस प्रमुख गेलालले यसबारेमा बुझ्दा मेडिकल सुपरिटेन्डेन्ट डा गौतमले चालक कोजुलाई राख्न खड्गी र नेताको दबाब आएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पताल राम्रो गर्न खोज्यो, सानो कुरामा धम्की आउँछ, नेताहरुले अस्पताल राम्रो बनाउ भनेर दबाब दिनुपर्नेमा अनियमितता गर्नेलाई राख्नुपर्छ भनेर दबाब दिनुहुन्छ ।” अस्पतालको विकासमा राजनीतिक रङ दिएर होस् वा कर्मचारी युनियनको त्रास देखाएर होस् अस्पताल सुधारका योजनामा समस्या दिँदै आएको अस्पतालका कर्मचारीको गुनासो छ ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले एम्बुलेन्स चालकलाई राख्न दबाब आएको स्वीकार गर्नुभयो । अस्पतालमा आज बसेको बैठकमा एम्बुलेन्स चालक कोजुको म्याद नथप्ने निर्णय गरेपछि पनि नेताहरुको दबाब आएको छ ।

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलालले अस्पतालमा खुलमखुला भ्रष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिन नहुने बताउनुभयो । प्रमुख गेलालसहित समन्वय समितका उपप्रमुख सरिता कुँवर, अन्य सदस्य, कर्मचारी र पत्रकारसहितको अनुगमन टोलीमा कर्मचारीले राजनीतिक दबाब रोक्न नसक्दा समस्या आएको गुनासो गरेका थिए ।

    भक्तपुर अस्पतालको सभाहलमा अनुगमन टोलीलाई मेसु गौतमले अस्पताल सुधारका लागि गरेका प्रयासका बारेमा जानकारी दिँदै काममा बेइमानी गर्ने एक एम्बुलेन्स चालकलाई समेत कारवाही गर्न रोकेको भन्दै दुखेसो पोख्नुभयो ।

    अस्पतालका अनुसार कोरोना सङ्क्रमणका बेलामा सङ्कलन गरेको स्वाब टेकु अस्पताल लैजान नमानेपछि अरुण सैजुको आरएनए–१६ ग्रुपले टेकु लाने गरेको, रातिको समयमा एम्बुलेन्स चलाउन नमानेको, काममा ध्यान नदिएको, बिरामी बोक्दा लिएको शुल्कको बिल नकाटी अनियमितता गरेको, हिसाब र रकम लेखा शाखामा महिनौँसम्म पनि नबुझाउने गरेको, जानकारी नै नगराइ सर्भिसिङ, मर्मत र तेलका नाममा रकम लिने गरेको, सामाजिक सञ्जालमा अस्पतालका बारेमा जथाभावी लेख्ने गरेको चालक कोजुमाथि आरोप छ ।

    जिल्ला समन्वय समितिका प्रमुख गेलालका अनुसार कोजु यसभन्दा पहिला समन्वय समितिले सञ्चालन गरेको एम्बुलेन्स चलाउँथे । त्यहाँ पनि काम राम्रो नगरेको, हिसाब पारदर्शी नगरेको भन्दै त्यहाबाट निष्काषण गरेपनि राजनीतिक दबाबमा भक्तपुर अस्पताल अस्पतालमा नियुक्ति पाएका थिए ।

    राजनीतिक दबाब आएपछि मेसु डा गौतमले ती चाकललाई विभिन्न शर्तमा एकपटकलाई तीन महिनाको करारमा राख्ने र अस्पताल प्रशासनलाई चित्त बुझ्दो काम नगरे निष्काशन गर्नेगरी राख्ने तयारी गरे पनि व्यवस्थापन समितिको बैठकले नराख्ने निर्णय गरेको बताइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार