काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा काठमाडौंका आठ छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल प्रयोगशालामा १८ जना, पाटन अस्पतालमा काठमाडौंका दुई जना र ललितपुरका दुईजना, वीर अस्पतालमा काठमाडौंका एकजना र नेपाल-कोरिया मैत्री अस्पतालमा भक्तपुरका एक जनामा संक्रमण भेटिएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
शुक्रबार देशभर कुल २ सय २४ जना काेराेना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितक संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १४ हजार ५ सय ९९ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय १६ रहेको छ ।
यस्तै आजसम्म कुल १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन् । शुक्रबार पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जसमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित दुई जना पर्साका बासिन्दा छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।