Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तान गर्नु पर्छ : अस्ट्रेलिया सरकार


    शुक्रबार, साउन १६ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गुगल र फेसबुकलाई आदेश दिएको छ। शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ।

    विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत् नै गुगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ। गुगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ।

    अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गका अनुसार गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने छ। अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली संचार माध्यमहरुले बताउँदै आएका छन्।

    अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ। उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ। प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ।

    गुगल र फेसबुकका अस्ट्रेलियाली प्रतिनिधिहरुले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएका छन्। एपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार