काठमाडौं । प्रहरीले बरामद गरेको सुन काण्डलमा नयाँ ट्वीस्ट आएको छ । नक्कली सुन बरामद गरिएको दिन सुन फ्याँकेको नभई प्रहरी जवानको हातमा दिएको खुलासा आएसँगै घटना मोडिएको हो ।
सो दिन महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले गाडी पछ्याउँदै गएपछि सुनको पोका फ्याँकेर तस्कर भागेको जनाएको थियो । सो पोकामा आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद भएकाे थियाे।
घटनामा पक्राउ परेका तीन अभियुक्तले प्रहरी जवान बहादुरसिंह कडायतलाई सुन दिएको बयान दिएपछि यस प्रकरणमा नयाँ ट्वीस्ट बाहिर आएकाे हाे।
कडायतले सुन्धारामा सुन लिएको पाइएको छानबिनको क्रममा पाइएको छ। घटनास्थलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजले यसलाई पुष्टि गरिसकेको छ ।
जवान कडायत लामो समय लाजिम्पाट बिटमा काम गरेका थिए । त्यहीँ उनको जेम एण्ड ज्वलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो । पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए ।
कडायतले यो सूचना दरबारमार्ग प्रहरीका घुमुवा प्रसन श्रेष्ठलाई दिएका थिए । श्रेष्ठले डीएसपी दाहालसम्म याे सूचना पुर्याएका थिए ।