काठमाडौं । नेपाल प्रहरीले दर्जनभन्दा बढी जिल्लाका एसपी सरुवा निकाल्दैछ । मोरङ, बारा, रौतहट, मकवानपुर, कपिलवस्तु, डोटी र बागमती ट्राफिकका एसपीहरु एसएसपी बढुवा भएकाले रिक्त छन् । सुनसरी, कास्की र बाँकेका एसपीको एक बर्ष पुगिसकेकाले सरुवा हुँदैछन् ।
एसपी सरुवामा सबैभन्दा बढी प्रतिस्पर्धा कास्कीमा देखिएको छ । कास्कीमा एसपी अजय केसीलाई सरुवा गर्नका लागि गुण्डानाइकेदेखि मन्त्रीका छोरा र आरजु राणाका पीए प्रकाश देउवासम्म सक्रिय रुपमा लागेका छन् । कास्कीमा केसीलाई सरुवा गराउन गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापा र उनका छोरा सौगात थापा सबैभन्दा बढी लागेका छन् । मन्त्रीपुत्र सौगातलाई पोखरामा नयाँ ‘पारस’को संज्ञा दिने गरिएको छ ।
गण्डकी प्रदेशका नवधनाढ्य मन्त्री थापाका छोरा पोखरामा विभिन्न काण्डमा मुछिरहने भएकाले पारसको संज्ञा पाएका हुन् । एसपी रमेश थापाले गुण्डानाइके एलजी समूहका ललित गुरुङलाई पक्राउ गर्न खोज्दा मन्त्रीपुत्र सौगातले नै ताण्डब प्रदर्शन गरी रोकेका थिए । त्यसक्रममा एसपीसँग सौगातको भनाभन नै भएको थियो । उनी विभिन्न काण्डमा परिरहने भएकाले कास्कीमा प्रहरी प्रमुख केसीलाई लाने र आफ्ना क्रियाकलाप निर्वाध संचालन गर्ने योजनामा रहेका छन् । पिता मन्त्री भएकाले उनीमार्फत् बालुवाटारमा प्रकाश देउवासँग कनेक्सन मिलाएर उनले एसपी केसीलाई सरुवा गराउन लागेको स्रोतको दाबी छ । आइजीपी धिरजप्रताप सिंह दीपशमशेर जबरालाई कास्कीमा सरुवा गर्ने पक्षमा छन् । तर बालुवाटारको दबाबसामु उनी पनि टिक्न सक्ने अवस्था नभएको स्रोत बताउँछ ।
कास्कीको एसपीमा केसीलाई सरुवा गर्नका लागि गुण्डानाइके एलजी समूहका ललित गुरुङ पनि लागेका छन् । गुरुङ तरुण दल लमजुङको सभापति समेत भएकाले उनको गृहमन्त्री खाँणसँग पनि विशेष सम्बन्ध छ । खाँण गृहमन्त्री नियुक्त भएको केही दिनमै २०७८ साउन १० गते गुरुङले मन्त्रीनिवासमै गएर उनलाई बधाइ दिएका थिए । कास्कीका एसपी रमेश थापाको १ बर्ष अवधि पूरा भएकाले उनी तालिमका लागि अमेरिका गइसकेका छन् ।
त्यसैगरी नेपाल प्रहरीको खरिद हेर्ने प्रबन्धमा २८ महिनादेखि कार्यरत प्रेम बस्नेत बारा वा कपिलवस्तुमा सरुवाका लागि लागेका छन् । प्रबन्धमा हुँदा उनले ठेकेदारसँग सेटिङ गरी पर्याप्त लाभ लिन सफल एसपी हुन् । कृष्ण कोइराला राम्रै जिल्ला ताकेका छन् । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेको दबाबमा झापा सरुवा भएका उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको एक बर्षमात्र भएको छ ।