Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० भन्दा बढी जिल्लामा एसपी हेरफेर हुँदै, बालुवाटारको चर्को दबाब


    सोमबार, साउन २ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका १० भन्दा बढी जिल्लाका एसपी हेरफेर हुँदैछन् । मोरङ, मकवानपुर, बारा, रौतहट, कपिलवस्तु, डोटी र बागमती ट्राफिकका एसपीहरु एसएसपी बढुवा भएकाले ती जिल्लामा पदरिक्त भएको छ । सुनसरी, कास्की र बाँकेका एसपीको एक बर्ष पुगिसकेकाले सरुवा हुनेछन् । 

    यी जिल्लाहरुमा एसपी सरुवाका लागि तीव्र प्रतिस्पर्धा छ । केही बदनाम र पटक पटक इन्चार्ज भएका एसपीहरु पनि मोरङ, कास्की, बाँकेजस्ता जिल्लामा सरुवाका लागि चर्को दबाब दिइरहेको प्रहरी स्रोतले बताएको छ । 

    बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको चर्को हस्तक्षेप प्रहरीका सरुवा बढुवामा हुँदैआएको छ । एसपी सरुवामा समेत बालुवाटारबाट आरजुको आदेशमा उनका पीए प्रकाश देउवाले प्रहरी प्रधान कार्यालयमा सूची पठाएका छन् । जुन सूचीबिपरीत सरुवा गर्ने हिम्मत गृहमन्त्री बालकृष्ण खाँणको पनि नभएको प्रहरी बृत्तमा चर्चा हुने गरेको छ । 

    एसपी सरुवाका लागि सबैभन्दा चर्को दबाब कास्कीका लागि देखिएको छ । कास्कीमा सरुवा हुनका लागि एसपी अजय केसी सबैभन्दा बढी लागेका छन् । केसीलाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत जोडबल लगाएको स्रोत बताउँछ । 

    कास्कीमा सरुवाका लागि दिपशमशेर जबरा, गंगा पन्तहरु पनि दौडधूपमा छन् । तर पोखरा नै घर भएका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले समेत केसीका लागि निकै चर्को लबिईङ गरिरहेका छन् । दोबाटे विश्वकर्माको मन्त्री पद खोसेकोमा आलोचित भएका थापाका छोरा सौगात थापालाई समेत एसपी केसीले प्रभावमा पारी आफूलाई कास्कीमा सरुवा गराउन दौडाएका छन् ।

    थापाहरुको समूहले पोखराको बहुमूल्य सरकारी जग्गा समेत दर्ता गरेको आरोप लागिरहेको सन्दर्भमा उनी एसपी केसीलाई लैजान निकै जोडबल गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अजय केसीले एक आयुक्तकै नाम समेत लिएर कास्की सरुवा हुन खोजिरहेका छन् । 

    यसअघि केपी ओली प्रधानमन्त्री हुँदा एमाले नेता महेश बस्नेतका निकट थिए केसी । बस्नेतकै जोडमा उनलाई नवलपरासीमा सरुवा गरिएको थियो । महेशपुर लगायतका परासीका नाकाबाट सुपारी र केराउ भारत तस्करी गर्ने बस्नेतको सेटिङ चलाउन उनलाई सरुवा गरिएको थियो । 

    सन्तोषसिंह राठौर मोरङ वा बाँकेको एसपी हुन प्रकाश देउवामार्फत् नै लागेका छन् । पोखरामा अपराध र गुण्डागर्दीमा बदनाम एलजी समूहले समेत केसीलाई सरुवा गराउन लागेको छ । एलजी समूहले केसीलाई लगेर पोखरामा आफ्नो गुण्डागर्दी र असुली धन्दा निर्वाध चलाउन चाहिरहेको छ । 

    सुनसरीमा सरुवा हुनका लागि गृहमन्त्रालयका प्रभु ढकाल, मकवानपुरमा वीरबहादुर ओली, कपिलवस्तुमा रामेश्वर कार्की शक्तिकेन्द्र धाइरहेका छन् । रौतहटको एसपीका लागि प्रकाश रानाभाट नेकपा समाजवादीका नेतादेखि धनुषाका कांग्रेस नेता महेन्द्र यादवको मन जित्न खोजिरहेका छन् । 

    कास्कीपछि मोरङमा जानका लागि राठौरका अलावा एसपीहरु कृष्ण कोइराला, दिलिप घिमिरे, आभूषण तिमल्सिना, होबिन्द्र बोगटी, श्यामकुमार महतो, सविन प्रधान लागेका छन् । मोरङपछि सुनसरी, बारा, कपिलवस्तु र मकवानपुरका लागि प्रतिस्पर्धा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार