काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्व पोखरेलले आज एआईजी पदबाट राजीनामा दिएका छन् । उनले प्रहरी प्रधान कार्यालय,नक्साल पुगेर दिउँसो १ बजे मानव स्रोत विकास विभागकी प्रमुख तथा एआइजी पूजा सिंहलाई राजीनामा बुझाएका छन् ।
प्रहरी मुख्यालयले पोखरेलको राजीनामा आजै गृह मन्त्रालय पठाउने तयारी गरेको छ । प्रहरीले कभरिङ लेटर सहित राजीनामा पत्रलाई मन्त्रालय पठाएपछि उतैबाट स्वीकृत भएको जानकारी गराउने कानुनी व्यवस्था रहेको छ ।
पोखरेलको राजीनामा स्वीकृत भएपछि औपचारिक रुपमा एक सिट एआईजी पद खाली हुनेछ । अहिले नेपाल प्रहरीमा आठ एआईजी पद कायम छ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेर आईजीपीमा सिंहको नियुक्ति सदर सदर गरेपछि पोखरेलसामू दुई बिकल्प थिए । एक प्रहरी प्रधान कार्यालयमा हाजिर हुने दोस्रो राजीनामा दिने ।