Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७ करोड घोटाला गर्न नपाएपछि इन्द्र बानियाँको दबाबमा सीटीस्क्यान खरिदको टेण्डर रद्द


    सोमबार, साउन २ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौंं । नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँका कारण ५ वटा जिल्ला अस्पतालमा सीटीस्क्यान जडान कार्य अबरुद्ध हुन पुगेको छ । ७ करोड बढी कबोल गर्ने कम्पनीलाई सीटीस्क्यान खरिदको ठेक्का नदिएपछि बानियाँले टेण्डर प्रक्रिया नै रद्द गर्न लगाएका छन् । 

    टेण्डरमा सबैभन्दा कम दरमा कबोल गर्ने क्यापिटल इन्टरप्राइजेजलाई ठेक्का दिनुपर्नेमा बानियाँले ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकललाई दिन दबाब दिए । उनको दबाब थेग्न नसकेपछि केन्द्रका कर्मचारीहरुले तोसिबा कम्पनीसँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाई मेडट्रोनिक्स नेपाल प्रालि/ भण्डारी सर्जिकललाई दिने निर्णय गरियो । तोसिबा कम्पनीका नेपाली एजेन्ट मेडट्रोनिक्स नेपाल प्रालिका संचालक धिरज थपलिया हुन् ।

     २९ करोडको प्रस्ताव गर्ने क्यापिटललाई नदिई नदिई ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकललाई दिने निर्णयको बारेमा मिडियामा ब्यापक समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाउन थाल्यो । र, आपूर्ति केन्द्रका कर्मचारीहरुले टेण्डर रद्द गर्दा ५ वटा जिल्लामा सीटीस्क्यान मेसिन खरिदको काम नरोक्न कम दरमा प्रस्ताव गर्ने क्यापिटललाई दिनका लागि प्रक्रिया अगाडि बढाउन खोजे । तर बागमती प्रदेश कांग्रेस सभापति इन्द्र बानियाँले ७ करोड बढी दरमै कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकलको बोलपत्र स्वीकृत गर्न दबाब दिए । ७ करोड बढी कबोल गर्नेलाई नदिए टेण्डर नै रद्द गर्न बानियाँले जबर्जस्त दबाब दिएपछि आपूर्ति केन्द्रका कर्मचारीहरुले टेण्डर रद्द गर्न बाध्य भएका छन् । 

    बानियाँको दबाबमा जबर्जस्ती टेण्डर रद्द भएपछि भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका जनताले सीटीस्क्यानको सेवा पाउनका लागि काठमाडौंमै आउनुपर्ने भएको छ । तत्काल ती जिल्लामा सीटीस्क्यान जडान नहुने भएको छ । इन्द्र बानियाँले देशका हरेक ठूला ठेक्कामा चासो राख्ने र सेटिङमा संलग्न हुँदैआएका छन् । त्यसको ज्वलन्त उदाहरण आपूर्ति केन्द्रबाट हुन लागेको सीटीस्क्यान खरिदको टेण्डर सेटिङको कम्पनीले नपाउने भएपछि रद्द गर्नु नै हो । 

    कांग्रेस प्रदेश अध्यक्ष इन्द्र बानियाँ र बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मेडट्रोनिक्स नेपाल प्रालिका संचालक धिरज थपलिया र भण्डारी सर्जिकलका संचालक रामशरण भण्डारीसँग सेटिङ गरी सीटीस्क्यानमा कराडौं अनियमितता गर्न खोजेका थिए । भण्डारी मन्त्री लामाकै जिल्ला सिन्धुपाल्चोकका हुन् । 

    थपलियाको मेडट्रानिक्स नेपाल र आरएस भण्डारीको भण्डारी सप्लायर्सलाई ३६ करोड ६४ लाखमा यसको ठेक्का दिन लागिएको थियो । जबकि क्यापिटलले २९ करोडमा हिटाचीका ५ वटा गुणस्तरीय सीटीस्क्यान आपूर्ति गर्ने बोलपत्र पेश गरेको थियो ।  

    ५ वटा सीटीस्क्यान मेसिन खरिद प्रक्रियामा ७ करोड रुपैयाँ अनियमितता भएको बिषयमा प्रदेशसभाको सार्वजनिक लेखासमितिले नेपाली कांग्रेसकै सांसद न्हुच्छे नारायण मानन्धरको संयोजकत्वमा छानबिन गर्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले सीटीस्क्यान खरिदमा ७ करोड बढी कबोल गर्नेलाई दिई अनियमितता गर्न लागिएको प्रतिवेदन दिएपछि आपूर्ति केन्द्रले कम दरमा प्रस्ताव गर्नेलाई दिनेबारेमा छलफल अगाडि बढाएको थियो ।

    सेटिङको कम्पनीले टेण्डर नपाउने भएपछि बानियाँले टेण्डर नै रद्द गर्न निर्देशन दिएका थिए । नेपाली कांग्रेसकै सांसदको नेतृत्वको उपसमितिले अनियमितता भएको ठहर गर्दै कम दरमा प्रस्ताव पेश गर्ने कम्पनीबाट खरिद गर्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका इन्द्र बानियाँले कम दरमा बोलपत्र पेश गरेको कम्पनीबाट खरिद गर्न नदिएर सीटीस्क्यान खरिद रोकेका छन् । 
    यसरी भएको थियो अनियमितता 
    सीटीस्क्यान खरिदका लागि टेण्डर सूचना प्रकाशित गरिसकेपछि आपूर्ति ब्यवस्थापन केन्द्रले ३१ करोड लागत स्टीमेट तयार गरेको थियो । ३१ करोड सिलिङ तोकिएको ५ वटा सीटीस्क्यानको बोलपत्रमा मेडट्रोनिक्स र भण्डारीले साढे ३६ करोड रुपैयाँको प्रस्ताव दर्ता गराएका थिए । स्टीमेटभन्दा साढे ५ करोड बढीमा बोलपत्र पेश गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धानले थाहा पाएमा सबै जेल जाने भएपछि हतार हतार उक्त कागजात च्यातियो र नयाँ लागत स्टीमेट ३७ करोड रुपैयाँको बनाइयो । टेण्डर दर्ता नम्बर सबै उही तर लागत स्टीमेट रातारात हेरफेर गरी ३७ करोड पुर्याइएको थियो । हिटाची कम्पनीको सीटीक्स्यानको आपूर्तिकर्ता क्यापिटल इन्टरप्राइजेजले २९ करोडमा टेण्डर हालेको थियो । तर स्रोतका अनुसार तोसिबासँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाई भण्डारी र मेडट्रोनिक्सलाई दिनेगरी नेपाली कांग्रेसका प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले टेण्डर दिने निर्णय गराएका थिए । 
    इन्द्र बानियाँ र स्वास्थ्य मन्त्री निमा लामासहितको टोलीलाई सेटिङ गर्ने काम भण्डारी सर्जिकलका रामशरण भण्डारीले गरेको स्रोत बताउँछ । भण्डारीकै जिल्ला सिन्धुपाल्चोकका मन्त्री निमा लामालाई समेत उनैले मिलाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार