Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीरगंजमा कोरोना संक्रमणबाट दुई ब्यक्तिको मृत्यु, पाँच जनाको उपचार हुँदै


    शुक्रबार, साउन १६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • पर्सा । कोरोना भाइरस संक्रमणबाट पर्सामा एकै दिन दुई जनाको ज्यान गएको छ । बिहीबार पर्सा वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय बृद्ध छन् । उनीहरु दुबैको मृत्यु पीसीआर परीक्षणको रिपोर्ट आउनु भन्दा अघि नै मृत्यु भएको उपाध्यायले जानकारी दिए ।

    ‘३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छपकैयाका वृद्धको भने घरमै मृत्यु भएको रहेछ । मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको छ’, उपाध्यायले भने । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

    ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै १३ साउनमा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई ५ साउनदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन् ।

    उनको बिहीबार साँझ पौने आठ बजे आइसियुमा उपचारकै क्रममा मृत्यु भएको उपाध्यायले जानकारी दिएका छन् । मृत्युपछि उनको रिपोर्ट आएको थियो । ‘रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ,’ उपाध्यायले सुनाए ।

    ६५ वर्षीय बृद्धको भने आफ्नै घरमा निधन भएको हो । घरमा एक्लै बस्दै आएकाले उनको उपचार हुन नसकेको कारणले मृत्यु भएको हुन सक्ने डा. उपाध्यायको भनाइ छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको डा. उपाध्यायले बताएका छन् ।

    ‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको छ,’ उनले भने । यसअघिका संक्रमितमा लक्षण नदेखिए पनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार