काठमाडौं । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओली र सत्तारुढ नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले देश श्रीलंका हुन लागेको भन्दै जनमानसलाई उत्तेजित बनाउन लागिरहेको बेला राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकले उनको दाबीलाई झुटो साबित गरिदिएको छ । राष्ट्रबैंकले सरकारसँग २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड रहेको तथ्यांक सार्वजनिक गरेको छ । गत असार मसान्तसम्म यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको पनि राष्ट्रबैंकले सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।