काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले कमलादीबाट बरामद गरेको १५ किलो सुन चेकजाँच गर्दा १४ किलो चाँदी भएको पाइएपछि यो प्रकरण छानबिन हुने भएको छ । सुन प्रकरणको छानबिन गर्न अपराध महाशाखाका एसएसपी दीपक थापाको संयोजकत्वमा टोली गठन गरेको छ ।
बरामद सुनमध्ये १४ किलो चाँदी र आधा किलोमात्र सुन रहेको खुलेपछि यो प्रकरण रहस्यमय बन्दै गएको छ । मंगलबार बिहान काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीअघि चेकिङ गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीले १५ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएको थियो । प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो ।
त्यसरी समातिएको भनिएको सुनमध्ये कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको बाहिरिएसँगै यो घटना रहस्यमय भएको थियो । कमलादीमा नक्कली सुन र पिस्तोल फालेर प्रहरीकै सामुन्नेबाट एक गाडी हुँइकिए पनि उक्त गाडी प्रहरीले बरामद गर्न सकेन । सुनको पोको र पेस्तोल फाल्ने उक्त गाडी भारतीय जाली नोटका कारोवारी बाराका इल्ताफ हुसेनको भएको खुलासा भइसकेको छ । जालीनोटका कारोबारी इल्ताफको गाडी प्रहरीले बरामद गर्न सकेन । र, १५ किलो सुन बरामद भयो भनेर झ्याली पिटिए पनि १४ किलो चाँदी भेटिएपछि यो बिषय थप रहस्यमय बन्दै गएको छ ।
पोको फालेर भागेको उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीको टोली नलागी सुन परीक्षण गर्न न्यूरोडमा केन्द्रित हुनु अर्को आश्चर्यको बिषय भएको छ । सुनको पोको फालेर गाडी भागेको सूचना दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहालले परिसरका प्रमुख श्याम ज्ञवालीलाई तत्काल गर्दा पनि उनले पुतलीसडकदेखि भाग्नसक्ने थानकोट र कोटेश्वर नाकामा उक्त गाडी नियन्त्रणमा लिने प्रयास किन गरेनन् ? यो अर्को रहस्यको बिषय भएको छ । यसले काठमाडौं परिसरको समेत उक्त गाडी र सुन फाल्ने मानिस पक्राउ नपर्नुमा लापरबाही देखिएको छ ।
यसअघि साउन ८ मा सीतापाइलामा पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने प्रहरीले साउन ८ गते राति नै प्रहरीले पक्राउ गरेको थियो । कार्कीमाथि एसिड प्रहार गर्ने रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई अपराध महाशाखाको टोलीले सीसीटीभी फुटेजको भिडियो सार्वजनिक गरी १ घन्टाभित्रै उनीहरुलाई पक्राउ गरेको थियो । भारत भाग्नसक्ने नाकामा निगरानी गरेपछि एसिड आक्रमणकारीलाई महाशाखाले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेपछि एसिड आक्रमणकारीको बयान सार्वजनिक गरेको भनेर अपराध महाशाखाकाका प्रमुख एसएसपी दीपक थापामाथि कारबाही हुनुपर्ने तर्क परिसरका एसएसपी श्याम ज्ञवालीले गरेका थिए । पक्राउ गर्न नसकेको आरोप खेप्नुपर्ने भएकाले महाशाखाले तत्कालै अपराधी पक्राउ परेको सूचना सार्वजनिक गरेको थियो । एसिड आक्रमणकारीलाई पक्राउ गर्न परिसरको टोलीसमेत महाशाखाले लिएर गएको थियो । संयुक्त रुपमा पक्राउ गरे पनि महाशाखाले मात्र जस लिनका लागि मिडियामा दिएकोमा एसएसपी ज्ञवालीले असन्तुष्टीस्वरुप यो बिषय उछालेका थिए । जबकि महाशाखाकै नेतृत्वमा एसिड आक्रमणकारीलाई पक्राउ गरिएको थियो । मद्दतका लागि मात्र परिसरको टोली लगेको थियो ।
थापामाथि एसिड आक्रमणकारीको भिडियो बयान मिडियामा दिएको भनेर कारबाहीको प्रयास गर्दा एसएसपी ज्ञवालीकै मातहतको दरबारमार्ग बृत्तको सुन प्रकरणको छानबिनको जिम्मा थापालाई दिइएको छ । सुन प्रकरणमा गाडी नियन्त्रणमा लिने पर्याप्त समय हुँदा पनि एसएसपी ज्ञवालीले लिन नसक्नुमा उनको पनि कमजोरी देखिएको छ । यसकारण उनी पनि छानबिनमा तानिनेछन् ।