काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागको महानिर्देशकबाट ६ महिनामै कारबाहीस्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ४ अतिरिक्त समूहमा फालिएका सहसचिव शोभाकान्त पौडेललाई खानेपानी मन्त्रालयले ससम्मान भित्र्याएको छ ।
अतिरिक्त समूहमा हाजिर गर्दै बसेको साढे ४ महिनापछि शक्ति र स्वार्थका आधारमा खानेपानी मन्त्रालयको सहसचिव पदमा सरुवा भएर आएका पौडेल पत्र पाउनेवित्तिकै बुधबार साँझ हाजिर गर्न पुगेका थिए । रोचक पक्ष के छ भने यही सरकारका पालामा खानेपानी मन्त्री उमाकान्त चौधरीले ल्याएका सहसचिव ज्ञानप्रसाद ढकाललाई ६ महिनामै फालेर भित्रिएका पौडेल गृहमन्त्रालय गएर काठमाडौंको प्रमुख जिल्ला बन्न खुब दौडधूप गरेका थिए ।
स्याङ्जा घर भएका कांग्रेस नेता गोपालमान श्रेष्ठ, तनहुँका रामचन्द्र पौडेल मार्फत् गृहमन्त्री बालकृष्ण खाँणलाई ठूलै दबाब दिए पनि गलेनन् । अन्ततः स्याङ्जाली पौडेलले खानेपानी मन्त्रीका निजी सचिव (उपसचिव) शशीकुमार लम्सालको फेरो समातेर चौधरीसँग सम्बन्ध गाँसी सरुवा मिलाउन सफल भएका छन् ।
उपससचिव लम्साल स्याङ्जा निवासी भएको र पौडेल पनि सोही भेगका भएकाले पनि सरुवा सहज भएको मन्त्रालयमा चर्चा छ । यहीकारण मन्त्री चौधरीले सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई पटक पटक पौडेललाई मन्त्रालय पठाइदिन दबाब दिएका थिए । आफैंले ल्याएका सहसचिव ढकाललाई अपमान गरेर पौडेललाई भित्र्याएका मन्त्री चौधरीको ब्यक्तिगत स्वार्थ पूरा गर्न असमर्थता जनाएपछि उनी सामान्यको अतिरिक्तमा पुगेका छन् । केही समयभित्रै अवकाश पाउन लागेका ढकाललाई छोटो समयमै सरुवा गरेर निजामती सेवा ऐनको समेत खिल्ली उडाइएको छ ।
मन्त्रीको सचिवालयका जम्बो सचिवालय सदस्यको अनावश्यक भ्रमण आदेश स्वीकृत नगरेको, आधा दर्जन भन्दा बढी मन्त्रीका सचिवालय र मन्त्री निवासमा प्रयोग भइरहेका सवारी साधनलाई मनलाग्दी इन्धन लगायतका सामग्री नदिएको, मन्त्रालयमा दैनिक भोजभतेरजस्तै खाजाका प्याकेट ल्याएर नदिएको जस्ता झिनामसिना काम नगरेको आधारमा ढकाल लखेटिएका छन् । खासगरी निजी सचिव लम्साल र ढकालबीचको टसल नै खानेपानीमा पौडेलको आगमन हो भन्ने कर्मचारी स्रोतको भनाइ छ । ढकालले पत्र नपाउँदै पौडेल मन्त्रालयमा हाजिर हुन पुगेका थिए । बिहीबारसम्म पनि सहसचिव ढकाल मन्त्रालयमै थिए । तर उनको पदमा बुधबारै पौडेल हाजिर भइसकेका छन् ।
पौडेलले हाजिर गरेलगत्तै मातहतका कर्मचारीलाई बोलाएर आफू खानेपानी मन्त्रालय सुधार्न आएको भन्दै कर्मचारीलाई निर्देशन दिएका थिए । बिहीबारदेखि नै काम थालेका पौडेललाई मन्त्री र उनको टोलीले सचिवको भन्दा बढी मानमनितो दिन थालेको छ । हरेक सरुवा, नियुक्ति र बढुवामा निजी सचिव लम्सालको हस्तक्षेप रहँदैआएको खानेपानी मन्त्रालय पछिल्लो समय कर्मचारी सरुवा र पँजनीले अस्थिर बन्दै गएको छ ।
मन्त्री चौधरीले खानेपानी मन्त्रालय सम्हालेपछि ३ सचिव हेरफेर गरिसकेका छन् । उनका गैरकानुनी काम गर्न नमानेका कारण सचिवहरु प्रमिलादेवी बज्राचार्य र सुरेश आचार्य सरुवा भएका थिए । आचार्यलाई सरुवा गरी मणिराम गेलाललाई खानेपानीको सचिवमा ल्याएका छन् । सचिवपछि सहसचिव पनि खानेपानी मन्त्रालयमा टिक्न छाडेका छन् ।