काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा काठमाडौंका दुई जना र भक्तपुरका एक जना संक्रमित भेटिएका हुन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा काठमाडौंका दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंको एकजना र स्टार अस्पतालमा काठमाडौंका दुई जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंमा १५ सहित बुधबार नेपालमा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ।
यस्तै बुधबार १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २१ उपचारपछि निको भएका छन्। हाल ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको छ।