काठमाडौं । भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली प्रवेशमा रोक लगाउन गरेको पत्राचारको जवाफ नेपालले पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यहाँ जान भारतको अनुमति आवश्यक नरहेको जवाफ फर्काएको हो ।
यसअघि भारतले पत्र पठाउँदै नेपालीलाई ती क्षेत्रमा प्रवेशमा रोक लगाउन आग्रह गरेको थियो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ती भूमि आफ्नै भएकाले त्यहाँ नेपाली हिँड्नु स्वभाविक भएको र उनीहरुलाई अवरोध नगर्न उल्लेख गर्दै पत्र पठाएको बताए ।
सुगौली सन्धीको धारा ५ मा भएको व्यवस्था, त्यतिबेला नेपाल सरकार र इष्ट इन्डिया कम्पनीबीच भएको सम्झौताको धारा ५, त्यतिबेलाका नक्साहरु र ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा त्यो नेपाली भूमि भएको उल्लेख गर्दै पत्र पठाएको सीडीओ पोखरेलले जनाएका छन् ।