काठमाडौं । जीवन दुःखी थियो, कुपण्डोलकी विमलालक्ष्मी कपालीलाई त्यही दुःख प्यारो थियो । अनायासै कसैले ‘सुख दिन्छु’, ‘जीवनभर अपनाउँछु’ भन्दै नयाँ जीवनको सपना देखायो । लाग्यो, ‘अब दुःखका दिन सकिए ।’ तर, दुःखहरु यसरी बढ्दै गएकी, आज उनको जीवन मर्नु न बाँच्नुको दोसाँधमा छ ।
भारतीय नागरिक विजयभूषण कौशलले एकल जीवन बिताइरहेकी विमलालक्ष्मीलाई व्यापारिक साझेदारीका नाममा प्रलोभन दिँदै आर्थिक र शारीरिक रुपमा शोषण गरेका छन् । लाखौँ रुपैयाँको ठगीमा परेकी विमलाले न्याय पाउनु त कहाँ कहाँ, उल्टै जावलाखेल प्रहरी परिसरको मुद्दा फाँटले दिनहुँ फोन गरेर विजयभूषणका सामानहरु फिर्ता गर्न दबाब दिन थालेको छ ।
कहिले अर्काको घरमा काम गरेर त कहिले माता जगाएर जीवनयापन गरिरहेकी विमलालक्ष्मीले १७ वर्षीया छोरीलाई हुर्काउँदै थिइन् । काठमाडौं महानगरपालिका– १९, यट्खा, दमाईटोल माइत भएकी उनलाई पतिले धेरै बर्षअगाडि छाडेका थिए । दुःखको जिन्दगी बिताइरहेकी उनलाई जीवनभर साथ दिने भन्दै भारतको पञ्जावस्थित बटाला स्थायी ठेगाना भएका विजयभूषणले उनकै नाममा एसियाटिक इन्टरनेशनल नामक व्यापारिक फर्म खोले । तर, उनीमाथि चरम आर्थिक र शारीरिक शोषण गरेपछि विजयभूषणले उनको साथमात्र छाडेनन्, आर्थिक रुपमा जर्जर अवस्था बनाइदिएका छन् ।
२०७२ सालको भूकम्पअघि विजयलक्ष्मी कुपण्डोलमा बुटिक सञ्चालन गर्थिन् । तर, भूकम्पले उनको पसल भत्काएपछि उनको गरिखाने बाटो बन्द भएको थियो । सानैदेखि माता जाग्ने कारण उनी थुप्रै मानिसहरुको भूत र भविष्यबारे बताउने क्षमता राख्छिन् । उनले जीविकोपार्जनको यही बाटो अपनाइन् । फुर्सदको समयमा छरछिमेककहाँ घरेलु काम सघाउने गर्थिन् । २०७२ सालकै असारमा माताका रुपमा भेट्न आएकी विनिता कौशलले उनलाई विजयभूषणसँग भेटाएकी थिइन् । उनी विजयभूषणकी छोरी हुन् ।
भारतीय पत्नीले सम्बन्ध बिच्छेद दिएको र आफूलाई एकल जीवन बिताउन मुस्किल भएको भन्दै विजयभूषण विमलालक्ष्मीसँग नजिकिए । उनले पत्नीका रुपमा जीवनभर साथ दिने, आर्थिक रुपमा पनि सम्पन्न बनाउने बचन दिएका थिए । शुरुमा विमलाले आनाकानी गरिन् । तर, विजयभूषणले धेरैपटक उनीसँग अनुनय विनय गरेपछि विमलाको मन पग्लियो ।
विमलालाई लिएर विजय भारत गए । उनको घर देखिन्, समाज देखिन् । उनलाई भारतको आधार कार्ड बनाइदिए । यी सबै कुरा हेर्दा उनले जीवनभर साथ दिने कुरामा विश्वस्त भइन् । नेपाल फर्किएपछि २०७५ असोज ९ गते बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एसियाटिक इन्टरनेशनल नामक व्यापारिक फर्म दर्ता भयो । त्यसको प्रोप्राइटर विमला नै थिइन् । उक्त फर्मले पुल निर्माणका लागि आवश्यक पर्ने सामानहरु भारतबाट आयात गथ्र्यो । तर, समयक्रममा विजयभूषणको व्यवहार फरक हुन थाल्यो । ६५ वर्ष उमेरका उनलाई फरक फरक महिलासँग यौनसम्बन्ध राख्ने लत बसेको थियो ।
यसबीच, सम्बन्ध बिच्छेद भएको भनिएकी महिला आइपुगिन्, विमलालक्ष्मीलाई भेट्न । उनले आफ्नो पतिसँग अनैतिक सम्बन्ध राखेको भनी विमलालाई तनाव दिइन् । त्यसपछि विमलभूषण सम्पर्कबिच्छेद भए ।
एकल महिला, अशिक्षित र सम्बन्ध बिच्छेद भएका युवतीहरुको खोजी गर्नु नै उनको मुख्य काम हुन थाल्यो । यसक्रममा विमलालक्ष्मीको सम्पर्कमा नुवाकोटकी एकजना एकल महिला आएकी थिइन् । अहिले पनि बुटवलकी पूजा नाम गरेकी महिलासँग उनले पत्नीवत सम्बन्ध राखेका छन् ।
विमलालक्ष्मीको नाममा खोलिएको एसियाटिक इन्टरनेशनलले करोडौंको कारोबार गरेको थियो । तर, विजयभूषण यौनमा लिप्त भएर विभिन्न महिलासँग सम्बन्ध राख्दै हिँड्ने भएपछि व्यापारिक काम चौपट भयो । उनी विमलालक्ष्मीको सम्पर्कबाट टाढिँदै गए । विमलाले भने आफ्नो नाममा फर्म भएका कारण त्यसको कर तिर्ने काम आफ्नै जायजेथा राखेर गर्दै रहिन् । भएभरका जायजेथा सकियो । उनका नगद र गरगहना गरी करिव ३० लाख रुपैयाँ सकिएको थियो । त्यसमध्ये करिव २०–२५ लाख रुपैयाँ विभिन्न बहानामा विजयभूषणले लगेका थिए । तर, पैसा लगेपछि विजयभूषण सम्पर्कमा आएनन् । मोबाइल नम्बरहरु फेर्दै हिँड्न थाले ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा नुवाकोटको विदुर नगरपालिका वडा नं.१ मा वडाध्यक्षमा विजयी भएका एमाले उम्मेदवार लेनिन रञ्जित नाताले विमलाका भाइ हुन् । भाइले चुनाव जितेपछि बधाई दिन उनी नुवाकोट जाँदै थिइन् । जाने क्रममा बट्टार बजारमा विजयभूषण फेला परे । उनी एकजना महिलासँग आपत्तिजनक अवस्थामा थिए । भेटेपछि विमलाले आफ्नो पैसा फिर्ता गर्न दबाब दिइन् । उनले आफ्नो भाइ तथा नवनिर्वाचित वडाध्यक्ष लेनिनलाई गुहारिन् । वडाध्यक्षकै घरमा बसेर उनले आफूसँग रहेको ३० हजार रुपैयाँ विमलालाई दिए । बाँकी रकमको चेक काटिदिए । तर, उनलाई भेट्न गाह्रो हुने कारण विश्वासका लागि कुनै न कुनै कागजात विमलाले मागिन् । विजयभूषणले आफ्नो भारतीय आधार कार्ड दिए ।
काठमाडौं आएपछि उनले विमलालाई काटिदिएको चेक हराएको भनी बैंकमा निवेदन दिए । जिल्ला प्रहरी परिसर ललितपुरमा विमलालक्ष्मीले आफ्ना महत्वपूर्ण कागजात लुटपाट गरेको भनी उजुरी दिए । अहिले विजयभूषणविरुद्ध विमलाले जिल्ला प्रहरी परिसर काठमाडौैंमा चेक बाउन्स मुद्दा हालेकी छन् । तर, भारतीय दूतावासबाट प्रहरीलाई दबाब दिँदै विजयभूषणले उल्टै विमलालाई दुःख दिने काम गरिरहेका छन् । ललितपुर प्रहरी परिसरको मुद्दा फाँटका कर्मचारीले नै उनलाई ‘लुटपाट गरेको सामान फर्काहाल्नुस्’ भन्दै धम्क्याउने गरेका छन् ।
एउटी बेसहारा महिलालाई जीवनभर साथ दिन्छु भन्दै तीन वर्षसम्म यौन शोषण, करिव ३० लाख रुपैयाँको आर्थिक शोषण र सामाजिक रुपमा बेइज्जतीको कुनै हिसाब छैन । तर, प्रहरीसमेत लागेर पीडित महिलामाथि झन् पीडा थोपरिएको छ ।
बिजयभूषण कसजुले बिमला लक्ष्मी कपालीलाई दिएका बिभिन्न मितिका चेकहरु