काठमाडौं । नेपालमा समुदायमा कोरोना नफैलिएको दाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । हालसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको दाबी छ । गौतमले भने, ‘मुलुकका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिए पनि संक्रमण समुदायमा फैलिसकेको प्रमाणित भइसकेको छैन ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भाइरसको फैलावटको वर्गीकरण अनुसार ठाउँ विशेषमा कोभिड १९ का केस भएको मुलुकको सूचीमा नेपाललाई राखेको छ ।
उनीहरू कोरोना संक्रमण तेस्रो चरणमा पुगेको संकेतका रूपमा लिन्छन् । सीमित व्यक्तिमा परीक्षण गरिएकोले त्यसलाई आधार बनाएर डब्लूएचओ र सरकारले समुदायमा नफैलिएको दाबी गरेको जन स्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्। उनी भन्छन्, ‘पीसीआर परीक्षण एकदमै सीमित छ । त्यसलाई आधार बनाएर ‘लोकलाइज ट्रान्ससिसन’ भनिएको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
क्वारेन्टाइन बाहिर पनि लक्षणयुक्त र लक्षणविहिन संक्रमित फेला परेकोले परीक्षण दायरा बढाउनु पर्छ ।’ समुदायमा तहमा अझै व्यापक रूपमा पीसीआर परीक्षण नभएकोले मन्त्रालयको दाबीमा आशंका गर्ने ठाउँ रहेको वरिष्ठ आइसीयु विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्। उनी भन्छन्,‘ लक्षणविहिन संक्रमित पनि देखिरहेकोले समुदायमा फैलिएको हुन सक्ने प्रबल आशंका छ। अहिले ठाउँ विशेषमा छिटपुट ठहर भए पनि समुदायमा फैलिएको भनिहाल्न तथ्यांक अभाव छ ।’
हालसम्म १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । निको भएर हालसम्म १३ हजार आठ सय ७५ जना घर फर्किएका छन्। अझै विभिन्न क्वारेन्टाइनमा १५ हजार तीन सय ३१ जना छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।