Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • गृहसचिव न्यौपाने र आइजीपी थापा एसिड प्रहारबाट घाइते कार्कीलाई भेट्न अस्पतालमा


    मंगलबार, साउन १३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने र आइजीपी शैलेश थापा क्षेत्रीले अस्पतालमा उपचाररत एसिड प्रहारबाट घाइते भएकी पवित्रा कार्कीलाई भेटेका छन् । मंगलबार गृहसचिव न्यौपाने, आइजीपी थापा र महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेल कीर्तिपुरस्थित मोडल अस्पतालमै पुगेर एसिड प्रहारबाट अनुहार क्षतविक्षत भएकी कार्कीलाई भेट गरेका छन् । गृहसचिव न्यौपाने र आइजीपी थापाले घाइते कार्कीमाथि एसिड प्रहार गर्ने दोषीमाथि कडा कारबाही गर्ने आश्वासन दिएका छन् ।

    अस्पतालमा उपचाररत कार्कीले एसिड आक्रमणका कारण मुखमा घाउ भएकाले बोल्न नसकेपछि आफ्नो पीडा र आफूमाथि भएको अपराधबारे कागजमा लेखेर जानकारी दिएकी थिइन् । उनले गृहसचिव न्यौपाने र आइजीपी थापासँग आफूमाथि एसिड प्रहार गर्नेमाथि कडा कारबााहीको माग गरेकी थिइन् । कार्कीकी दिदी सुनिता थापाले भनिन्–‘हाम्री बहिनीको जीवन बर्बाद पार्नेमाथि कडा कारबाही होस् भन्ने हाम्रो माग हो । पवित्राको जस्तो नियति अरुले बेहोर्नु नपरोस् । गृहसचिव र आइजीपीले नै कारबाही हुने आश्वासन दिनुभएको छ । हामी आशावादी छौं ।’

    यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एसिड पीडित कार्कीलाई अस्पतालमा भेटेर उपचारमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।

    एसिड प्रहारबाट घाइते भएकी कार्कीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भएको थाहा पाएपछि अधिवक्ता राधिका खतिवडाको पहलमा आर्थिक संकलन अभियान नै सुरु गरिएको छ । घाइते कार्कीकै नाममा सिद्धार्थ बैंकको कलंकी शाखामा रहेको खातामा जम्मा गर्नेगरी उनको उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको खतिवडाले जानकारी दिइन् । अधिवक्ता खतिवडाले कार्कीमाथि एसिड प्रहार भएकै भोलिपल्ट साउन ९ मा उनको पक्षमा उनलाई न्याय दिलाउन अदालतमा निःशुल्क बहस गर्ने घोषणा गरेकी थिइन् ।

    कार्कीमाथि एसिड प्रहार गर्नेलाई प्रहरीले साउन ८ गते राति नै प्रहरीले पक्राउ गरेको थियो । अपराध अनुसन्धान महाशाखाले दोषी भाग्न सक्ने भएकाले सीसीटीभी फुटेजमा उनीहरुले एसिड प्रहार गरेको भिडियो नै सार्वजनिक गरेको थियो । महाशाखाले एसिड प्रहार गरेको दुई घन्टामै दोषी सार्वजनिक गरेको थियो । कार्कीमाथि एसिड प्रहार गर्ने रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई थुनामा राखी अनुसन्धान भइरहेको छ । 

    फोटोःघाइते कार्कीको अवस्था बुझ्दै गृहसचिव महेश्वर न्यौपाने, आइजीपी शैलेश थापा र डीआइजी विश्वराज पोखरेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार