Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उद्योग मन्त्रालयका सचिव पोखरेलको २ बर्षदेखि रजगज, अरु सचिवको ६ महिनामा ३ पटक सरुवा 


    मंगलबार, असार ७ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । अर्जुनप्रसाद पोखरेल सबैभन्दा बढी समय टिक्ने सचिवका रुपमा परिचित छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रालयका सबै सचिवहरुलाई फेरबदल गरिसकेका छन् । देउवा आएपछि कतिपय सचिव दुईपटक फेरबदल भइसके । तर उद्योग सचिव पोखरेल भने उद्योगमै रजगज गर्न सफल भएका छन् । मन्त्रीबिहीन मन्त्रालयमा १० महिनासम्म एकछत्र राज गरे पोखरेलले ।

    दिलेन्द्रप्रसाद बडु मन्त्री हुनुअघिका १० महिनाअघिदेखि उनले उद्योग मन्त्रालयमा रजगज गर्दैआएका थिए । तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले यामकुमारी खतिवडालाई सरुवा गरेर पोखरेललाई तत्कालीन मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा उद्योगमा लगिएका थिए । त्रिपाठीकै जन्मथलोका पोखरेलसँगको सम्बन्ध त्रिपाठीसँग सुमधुर रहेकै कारण उनी सचिवमा बढुवा हुनेवित्तिकै केही महिनामात्रै मधेश प्रदेशमा बाध्यताका कारण बस्नु परे पनि तुरुन्तै सिंहदरवार सरुवा गराउन सफल भएका थिए ।

    दरबन्दी नै नहुँदा पनि उनलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखेर न्याय दिन सफल भएका त्रिपाठीको कृपा अहिले पनि पोखरेलमाथि रहेकै छ । मन्त्री हट्नेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि त झन् पोखरेलको चुरीफुरी कम्ती भएन । उनले प्रधानमन्त्री देउवाको सचिवालयका सदस्यलाई रिझाएर सचिवालयमार्फत् मन्त्रालय चलाउन सफल भए । जसका कारण उनी सबै सचिव चल्दा पनि उनी उद्योगमै रहन सफल भएका छन् । जबकि सचिवहरु सुरेश आचार्य, डा.रमेशप्रसाद सिंह, मणिराम गेलाल, रामप्रसाद थपलियालगायत ३ ठाउँमा सरुवा भाएका छन् । तर पोखरेल भने त्यहीँ टिकिरहनुमा धेरै कारण छन् । ती कारणमध्ये उद्योग मन्त्रालय मातहतका निकायबाट घुुस असुली गरी बालुवाटार पुर्याउनु हो । पछिल्लो समय मन्त्री बडुको सचिवालय र मन्त्रीलाई पनि त्यही फर्मुला अनुशरण गरी चित्त बुझाउनु रहेको छ ।

    हृदयेश त्रिपाठीसँगको सम्बन्धका कारण राजनीतिक पहुँच विस्तार गर्न सफल भएका पोखरेललाई उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, निर्देशकहरु सुरेश श्रेष्ठ, सुरेश जोशी र केही शाखा अधिकृतहरुले पनि महिनावारी रकम बुझाउने गरेको आरोप छ ।

    तत्कालीन महानिर्देशक जीवलाल भूसालले सचिव पोखरेललाई रिझाउन नसकेकै कारण उनको सरुवा भएको चर्चा मन्त्रालयमा हुने गरेको छ । प्रधानमन्त्रीको सचिवालयका बद्री तिवारी (हाल दिल्ली) मार्फत् उद्योग विभागको महानिर्देशक बन्न सफल तिवारीलाई मुख्यसचिव शंकरदास बैरागीको दर्बिलो संरक्षण रहेको छ । बैरागी र पोखरेल पर्वत जिल्लाबासी हुन् । बैरागीकै कारण अहिलेसम्म तिवारी टिकिरहेको बताइन्छ । सोमबार तिवारीको सरुवा भएको हल्ला विभागभरी फैलिए पनि मुख्यसचिव बैरागीकै कारण रोकिएको चर्चा भएको थियो । मन्त्रालयका सचिव पोखरेलले तिवारीलाई सरुवा हुन लागेको सूईको दिएपछि तत्कालै उनले मुख्यसचिवमार्फत् सरुवा रोक्न सफल भएको बजार हल्ला छ । 

    तिवारी र पोखरेलको सम्बन्ध प्रगाढ हुँदा मन्त्री बडुसमेत अप्ठेरोमा छन् । पोखरेलमाथि गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रलाई मोटो रकम लिई डीजी बनाउन भूमिका खेलेको आरोप छ । मिश्रबाट लिएको रकम प्रधानमन्त्रीको सचिवालयलाई बुझाएकै कारण उनलाई महानिर्देशक बनाउन पोखरेल सफल भएका हुन् । जबकि एउटै भेगका प्रधानमन्त्रीकै भएकाले आफू महानिर्देशक हुन कुरामा विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्ट ढुक्क थिइन् । तर देउवामाथि प्रायः सबै अवसर भेगीय नाताका आधारमा दिएको आरोप लाग्दै आए पनि जोशी भने अपवादमा परेकी छन् । यसमा सचिव पोखरेलकै अभियानले सार्थकता पाएको छ ।

    आफूले भनेको नमान्ने र महिनावारी नबुझाउने कर्मचारीलाई बक्रदृष्टि राख्दै आएका पोखरेलले कम्पनी सुधारमा अपेक्षाकृत काम गरिरहेका बस्न चाहिरहेका सहसचिव प्रदीपराज अधिकारीलाई सरुवा गराए । मन्त्रालयमा आफू निकटका सहसचिव ल्याउन बरिष्ठ र कार्यसम्पादनका दृष्टिले राम्रो मानिएकाहरु लखेटिए । सचिव पोखरेलको मनपरी यतिसम्म छ कि बाणिज्य सचिव गणेश पाण्डे पदमा हुँदाहुँदै पनि कतिपय बाणिज्यका काममा समेत पोखरेल हस्तक्षेप गर्न पुग्ने गरेका छन् । 

    प्रायः फाइलमा कलम चोप्न हम्मेसी बल नगर्ने पाण्डेको स्वभावको फाइदा उठाउँदै पोखरेलले भने कतिपय बाणिज्य सचिवले गर्नुपर्ने कामहरु पनि आफैं गर्दैआएको आरोप छ । यतिसम्म कि विगतमा मन्त्रीको कार्यकक्षका रुपमा रहेको कोठा मन्त्री नभएको मौका पारी कब्जा गरी मन्त्रीभन्दा उपल्लो दर्जामा राखेका छन् । उनको कार्यकक्षको क्षेत्रफल मन्त्री बडुको भन्दा ठूलो छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार