काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत २७ जनामा प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सुरुमा एक जनामा लक्षण देखिएको र परीक्षण गर्दा पोजेटिभ आएसँगै अन्यमा गरिएको परीक्षणपछी थप प्रहरीमा कोरोना देखिएको बताइएको छ। प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अहिलेसम्म २७ जनामा कोरोना देखिएको नेपाल प्रहरीका नवनियुक्त एआइजी नीरजबहादुर शाहीले जानकारी दिए।
संक्रमित सबै प्रहरीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। त्यस्तै उनीहरूसँग सम्पर्कमा आएका प्रहरीलाई क्वारेनटिनमा राखिएको छ।
संक्रमितमध्ये अधिकांश सवारी शाखा र सञ्चार शाखाका रहेका छन्। यी दुई शाखालाई पूर्णरुपमा सिल गरिएको छ। उनीहरूमा कोरोनाको संक्रमण कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन।
त्यस्तै सोमबारमात्र स्याङ्जा जिल्लाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीमा कोभिड देखिएको थियो। १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत १९ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो।
अहिलेसम्म १ सय ८४ जना प्रहरीमा कोरोना संक्रमण देखिइसकेको छ। तीमध्ये ९९ जना उपचारपछि ठीक भएर ड्युटीमा फर्किइसकेका छन् ।