काठमाडौं । पार्टीमा कुनै योगदान नभए पनि प्रधानमन्त्री केपी ओलीको चाकडी गरेकै भरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री नियुक्त भएका मोति दुगडले आफ्नै सचिवालयका पीए र ड्राइभरको तलबसमेत हजम गरेका छन् ।
राज्यमन्त्री दुगडले आफ्नै कम्पनी दुगड स्पाइस एण्ड फुड प्रोडक्सन प्रा.लि.का कर्मचारीलाई स्वकीय सचिव, चालक र कार्यालय सहयोगीमा नियुक्ति गरेका छन् । उनीहरुलाई सरकारले दिने तलब सुविधा वापतको रकम राज्यमन्त्री आफैंले लिने गरेको स्वकीय सचिवालयका एक कर्मचारीले गुनासो गरे । लकडाउनको अवधिमा दुगडको सेञ्चुरी मसाला उत्पादन गर्ने दुगड स्पाइस एण्ड फुड प्रोडक्सनबाट आधा तलबमात्र दिइयो । ‘मन्त्रालयबाट लिइएको तलब बैंकमा हाल्नासाथ राज्यमन्त्रीज्यूले मागिहाल्नुहुन्छ । हामीलाई परिवार पाल्न पनि मुस्किल प¥यो ।’एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा गुनासो गरे ।
२०७६ मंसिर ५ मा राज्यमन्त्री भएका दुगडले मन्त्रालयबाट आउने सचिवालय कर्मचारीको तलबसमेत हजम गर्ने र कम्पनीबाट पनि आधा तलब दिएर कर्मचारीलाई भोकभोकै पारेका छन् । दुगडको सचिवालयमा स्वकीय सचिव १ जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना छन् । सबै उनको कम्पनीमा काम गर्ने कर्मचारी र मजदुर हुन् ।
उनले आफ्नो कम्पनीमा न्यूनतम तलब पनि नदिई काम लगाएको र मन्त्रालयबाट आउने तलब समेत हडपेकाले उनीहरु विचल्लीमा परेका हुन् । तर गुनासो गर्दा भएको जागिर जाने डर छ उनीहरुलाई । राज्यमन्त्री दुगडले स्वकीय सचिवमा दुगड स्पाइसका लेखापाल श्रीधर वञ्जाडेलाई नियुक्ति गरेका छन् भने सवारी चालक रामप्रसाद अधिकारी, अशोक नेपालीलाई राखेका छन् । कार्यालय सहयोगीमा आशिष क्षेत्री र सोमु राजवंशी छन् । यी सबै दुगडको उद्योगका कर्मचारी र मजदुर हुन् । लकडाउनको अवधिमा दुगडले उनीहरुलाई महिनामा ८-१० हजार मात्र तलब दिएको गुनासो गरे । यसबारेमा दुगडका स्वकीय सचिव श्रीधर बञ्जाडेसँग प्रतिक्रिया लिंदा उनले मन्त्रालयको तलब आफुहरुले नै लिने गरेको बताए । यसैबीच कोरोना महामारीको ठूलो त्रासका बेला वैशाख पहिलो हप्ता राज्यमन्त्री दुगडले आफ्ना छोराछोरीलाई लण्डनबाट नेपाल झिकाए र क्वारेन्टाइनमा नराखी सिधै घर लगेका थिए ।
सुलभ अग्रवाल प्रकरणमा दुगडको चलखेल
कोरोना भाइरस संक्रमणको समयमा ज्वरो जाँच गर्ने थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन राज्यमन्त्री दुगडले धेरै चलखेल गरे । अग्रवाल पक्राउ परेकै दिन प्रधानमन्त्री केपी ओलीलाई भेटेर छुटाउन तीव्र चलखेल गरे, तर प्रधानमन्त्रीले उनलाई हप्काएपछि उनी बालुवाटारबाट लुरुक्क परेर फर्किएका थिए । २४ दिन हिरासतमा बसेर जिल्ला अदालतको आदेशले रिहा भएका अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेपछि दुगडले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत उनलाई छुटाउन सफल भए ।
सम्पत्ति शुद्धीकरणका महानिर्देशक रुपनारायण भट्टराईलाई रेग्मीले दबाब दिएपछि उनलाई पक्राउ गरेको दिन साँझै छाडिएको थियो । जबकि सम्पत्ति शुद्धीकरणले उनको बयान लिएर मुद्दा चलाएपछि मात्रै उनी छुट्नुपर्ने हो । तर मुख्यसचिव रेग्मीले दबाब दिएपछि उनी छुटेका थिए । राज्यमन्त्री दुगडको रेग्मीसँग गहिरो सम्बन्ध रहेको छ । उनले विदेशबाट आउँदा सँधै रेग्मीलाई महंगा महंगा गिफ्ट ल्याउने गरेका छन् । राज्यमन्त्री दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बद्नाम गर्दै आएका छन् । उनको कार्यकक्षमा भन्सार छली गर्नेहरु विभिन्न तस्करहरुको मात्र जमघट हुने गर्दछ । भन्सार र राजस्वले बरामत गरेका गाडी छुटाउने देखि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्नलाई उन्मुक्ति दिनका लागि उनले अर्थमन्त्रालयका सचिवदेखि भन्सारका महानिर्देशकसम्मलाई दबाब दिने गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आफुलाई मारवाडीहरुसँग नेकपाको सम्बन्ध बढाउन राज्यमन्त्री बनाएको गफ चुटेर दिन बिताउने गरेका छन् । साँघु साप्ताहिकबाट