काठमाडौं । एसिड प्रहारबाट घाइते भएकी पबित्रा कार्कीको उपचारका लागि पहिलो दिनमै ३१ हजार ५ सय रुपैयाँ जुटेको छ । एसिड प्रहारको शिाकार भएकी कार्कीको तर्फबाट निःशुल्क वकालत गर्ने घोषणा गरेकी राधिका खतिवडाले उनको आर्थिक अवस्था पनि राम्रो नभएकाले उपचारमा पनि सहयोग गर्नका लागि अभियान सुरु गरेकी छन् । कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचाररत कार्कीका दिदीभिनाजुको अनुरोधमा अधिवक्ता खतिवडाले उनको उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरेको बताइन् ।
कीर्तिपुर अस्पताल पुग्दा उपचारको क्रममा पीडितलाई अभिभावकत्व ग्रहण गरिरहनुभएका बहिनी पबित्राका दिदीभिनाजुसगको कुराकानीमा उनको आर्थिक अवस्था समेत दयनीय रहेको तर उपचार खर्चिलो र लामो समय लाग्ने भएकोले खर्चको अभाव रहेको जानकारी पाएपछि आर्थिक सहयोग अभियान सुरु गरिएको जानकारी दिइन् । पवित्रा कार्कीकै बैंकखातामा रकम संकलन गरी जम्मा गरिएको छ ।
खतिवडाले भनिन्, पीडित कार्कीको उपचार राज्यले गरोस् भन्ने पीडित परिवारको अपेक्षा छ । राज्यका निकायले एसिड पीडितको उपचारमा ध्यान दिनुपर्छ ।
कुनै एक व्यक्तिको योगदानले खासै केही गर्न नसक्ने भएतापनि थोपा थोपा मिलेर सागर बन्छ भनेझैं व्यक्ति व्यक्ति मिलेर सहयोग गरिएमा तत्कालको लागी केही राहत अवश्य हुन्छ भन्ने सोचले हामीले पीडित कार्कीको नाममा रहेको सिद्धार्थ बैंक लिमिटेड कलङ्की शाखामा रहेको खाता नम्बर ०१९१५३९६१३० मा रकम जम्मा गर्न खतिवडाले आग्रह गरेकी छन् । उनको उपचारका लागि अधिवक्ता खतिवडाले ५ हजार रुपैयाँ सहयोग गरेकी छन् । एसिड पीडित कार्कीको उपचारमा सुस्मा राईले ५ हजार, द्वारिका न्यौपानेले ५ हजार, रोमस खतिवडाले १ हजार, उषाकिरण तिमल्सिनाले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी रविन प्यासीले २ हजार, जयराम तिमिल्सिनाले २ हजार, डीआर जोशीले २ हजार सहयोग गरेका छन् । बसन्त जोशीले २ हजार र किशोर मल्लले १ हजारले सहयोग गरेका छन् ।