सुनवल । सुनवल नगरपालिकामा स्थानीय सरकारको सपथग्रहण समारोह लाखौं रुपैयाँ खर्र्र्ची राजकीय शैलीमा आइतबार सम्पन्न भएको छ । जनताको सेवाको नारा बोकेकी एमालेकी नवनिर्वाचित मेयर विमला अर्यालको राजकीय शैलीमा सपथग्रहण सपथ खाएकै दिन सुरु भयो तुरिया खोलाको व्यापक दोहन र चिरहरण । नगरप्रमुख अर्यालसँग प्रशासनको समेत मिलेमतोको आशंका गरिएको छ । नेकपा (एमाले) का निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको पदभार ग्रहण गरेकै दिन खोलानालाको व्यापक दोहन समेत सुरु भएको पाइएको छ ।
एमालेको तर्फबाट नवनिर्वाचित मेयर विमला अर्यालको तडकभडक एव राजकीय शैलीमा पदभार ग्रहण गरेकै दिन सुनवलको तुरिया खोलाबाट ठूला एक्साभेटर प्रयोग गरी अवैध दोहन सुरु भएको पाइएको छ । उता नगरपालिकाले मेयर तथा जनप्रतिनिधिहरुको राजकीय सम्मानमा कमी नहोस् भन्दै सोमनाथस्थित सोमनाथ रिसोर्टमा हजारौंको उपस्थितिमा मासुसहितको खाजाका साथ सपथ ग्रहण कार्यक्रम आयोजना गरेको थियो । अर्कोतर्फ सपथ ग्रहण भएको विहानैदेखि ३–४ वटा ठूला मेसिन र ठूलो भारवहन क्षमताका दर्जनौं टिपरहरु अबैध दोहनको धन्दामा लावालस्कर लागेको दृश्य देख्दा सुनवल चारघरेका स्थानीयवासी अचम्मित वनेका छन् ।
तुरिया खोला दोहन यसैगरी हुँदैआएको छ ।
स्थानीयवासीहरुले खोलामा नदीजन्य पदार्थको अवैध दोहन भइरहेको विषयमा हल्ला गरेपछि नगरका नगरप्रहरीहरु खोलामा पुगे पनि अवैध उत्खनन् र ढुवानी भइरहेको दृश्य टुलुटुलु हेरेर वसेको देखेको देख्दा स्थानीयवासी थप अचम्मित वनेका छन् । उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भने ठेक्का बन्दोबस्ती नै नभएको खोलामा उत्खनन् भएकोबारे नगरपालिकालाई थाहै नभएको सुनवलवासी नै महाअचम्भित हुने जवाफ दिएका छन् । एमालेको नयाँ वहुमतको स्थानीय सरकार बनेपछि नगरवासीको जनजीवीका र जीवनस्तरमा परिवर्तन हुने सपना देखेका सुनवल नगरवासीहरुको सपना रातिमा देखेको जस्तो अनुभूति भएको बताएका छन् ।
खोला दोहनका विषयमा जिज्ञासा राख्दा नवलपरासी प्रहरी प्रमुखले भने आदेशानुसार भएकोले केही गर्न नमिल्ने जवाफ दिएका छन् । सुनवल तुरिया खोलामा अप्राकृतिक र अवैध दोहन कार्य भइरहेको भन्ने जनगुनासोमा प्रजिअ श्रवणकुमार पोखरेलले भने निर्माणाधीन पूर्व पश्चिम राजमार्गमा आवस्यक पर्ने नदीजन्य पदार्थ लैजान दिइएको वताएका छन । स्थानीय भने यो प्रजिअ पोखरेल र ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीको मिलेमतोमा अवैध उत्खनन् गरिरहको आरोप लगाएका छन् । उता जनताले ठूलो आशा र भरोसा गरी जिताएका जननिर्वाचित जनप्रतिनिधिहरुले समेत सपथ र पदभार ग्रहण गर्दा जनताले तिरेको करबाट संकलित ढुकुटीको लाखौं रकम खर्च गरेर राजकीय शैलीमा सम्मानित हुन खोज्ने शासक शैली र प्रवृत्ति देख्दा निमुखा जनता अत्यत दुखी र निराश देखिएका छन् ।
सुनवल नगर समृद्धिको विषयसँग प्रत्यक्षरुपमा जोडिएको नगरको मुख्य आयश्रोतको रुपमा रहेका नदीनालाको समयमै विधिवत ठेक्का बन्दोबस्त गरेर खोला नालाहरुको व्यवस्थापन चुुस्तदुस्त गर्ने अभिभारा वोकेको स्थानीय सरकार प्रशासन त्यसको विपरीत विगतमा जस्तै अवैध र अप्राकृतिक दोहनलाई प्रश्रय दिई आर्थिक मिलेमतोमा खोला चल्न दिने कुकर्म भइरहेको देख्दा खोला तटीय क्षेत्रका स्थानीय आजित वनेका छन् ।
स्थानीय सरकार तथा नियमनकारी प्रशासन समेत आर्थिक प्रलोभनमा पर्दा सुनवल तुरिया नदीको वर्षेनी अवैध दोहन हुदा वर्षायाममा बाढीको त्रासतीपूर्ण अवस्थाबीच जीवन चलाइरहेको स्थानीयहरु भने जुनसुकै सरकार आए पनि मिलोमतोमै दोहन गर्ने चरित्र रहेकाले नवनिर्वाचित मेयर अर्यालबाट धेरै आश गर्न नभएको दुखेसो गरेका छन् । स्थानीय प्रहरी प्रशासन, वन कार्यालय र नगरवासीको पूर्णरुपमा अभिभावकको रुपमा रहेको स्थानीय स्थानीय सरकार सवै मिलीभगतको परम्परा नै बनेपछि शासकबाट जनता सधै शोषित नै भइरहन वाध्य भएको सुनवलका खोला पीडित स्थानीयवासीले दुखेसो गरेका छन् ।