काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी) नियुक्तिबिरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पूर्ण सुनुवाई हुँदैछ । सरकारले बरिष्ठताका आधारमा आइजीपी नियुक्ति नगरी तेस्रो बरियताका कनिष्टलाई गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
एआइजी धिरजप्रताप सिंहलाई मन्त्रिपरिषदले २०७९ बैशाख १८ गते आइजीपी नियुक्ति गरिएपछि पोखरेल प्रहरी नियमावलीबिरुद्ध भएको भन्दै अदालतमा रिट लिएर गएका थिए । सर्वोच्च अदालतले नजिकिएको स्थानीय तहको निर्वाचन भएको र आइजीपीले दज्र्यानी चिह्न लगाइसकेकाले अन्तरिम आदेश दिन अस्वीकार गरी नरोकी जेठ १७ गतेका लागि पूर्ण सुनुवाइ गर्न आदेश दिएको थियो ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले वैशाख २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो ।
तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने अदालतको आदेशमा उल्लेख थियो । सोही अनुसार आजदेखि अन्तिम सुनुवाइ ह्ुन लागेको छ । एआइजी पोखरेल एआइजीको उमेरहद ५६ बर्षका कारण २ महिनापछि साउन २० मा अवकाश हुने भएकाले आजदेखि अन्तिम स्ुनुवाइ गरी मुद्दा किनारा लगाउनुपर्ने कुरा पनि आदेशमा उल्लेख छ ।