काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो ।
कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षाका कारण उपत्यकामा हरियो तरकारीको मूल्य बढेको बताए । विभिन्न ठाउँमा बाढीपहिरो आउँदा काठमाडौं उपत्यका आउने तरकारीको आपूर्ति कम भएको उनले बताए । बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको खतिवडाको भनाइ छ । उनका अनुसार उपभोक्ताले सहज मूल्यमा तरकारी पाउन काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन आउनुपर्छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।