काठमाडौं ।सर्वोच्च अदालतले श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालालाई कैदसंजाय घटाएर छाड्ने निर्णय गरेपछि इतिहासमै न्यायालयका बिरुद्ध पहिले पटक सडकमा प्रदर्शन भएको छ । सामाजिक संजालदेखि चौतर्फी बिरोध भएपछि सरकारले पुनरावलोकन दर्ता गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।
सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।