Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उडान नखुल्दा सन्दीपले सीपीएल गुमाउन सक्ने


    शनिबार, साउन १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालबाट नियमित अन्तराष्ट्रिय उडान नखुलेका कारण नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ। सीपीएल खेल्नका लागि उनी अबको एक साताभित्र वेष्ट इन्डिजमा पर्ने देश ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्छ।

    नेपालबाट नियमित अन्तराष्ट्रिय उडान नखुलेका कारण सन्दीप जाने वा नजाने निश्चित नभएको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए। “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उनले भने, “सीपीएल खेल्नका लागि सन्दीप १७ साउनसम्ममा त्यहाँ पुगिसक्नु पर्छ।”

    सरकारले गत बुधबार बन्दाबन्दी अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान १ भदौदेखि मात्र खोल्ने निर्णय गरेको छ। उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो। “सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ”, व्यवस्थापक सिवाकोटीले भने।

    सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन्। “सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन”, उनले भने।

    सन्दीपको टोबागो यात्राबारे आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले जानकारी दिए। उता पुगेपछि पनि अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ।

    सन्दीप यसपटकको सिजनमा सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित भएका छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो। सन्दीप उक्त टिमको मार्की खेलाडी पनि हुन्। यसअघि उनले पहिलो र दोस्रो संस्करणको सीपीएल खेलिसकेका छन्।

    सीपीएल आगामी २ देखि २५ भदौसम्म चल्ने छ। सीपीएलमा कूल ३३ खेल हुनेछन्। कारोनाभाइरस महामारीका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार