Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धन नमान्ने भन्दै कांग्रेस धनगढीभित्र विद्रोह, वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा


    शुक्रबार, बैशाख ९ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले पदबाट राजीनामा दिएका छन् । 

    वडा नम्बर १८ को वडाअध्यक्ष कांग्रेसले पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमति अनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यही अनुसार उम्मेदवारी दिने भन्ने थियो ।

    बलियो संगठनका कारण १८ नम्बर वडामा कांग्रेसको जीत सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनुपरेको वडा सभापति थापाले बताए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाअध्यक्ष जितेको थियो । गठबन्धनबिचको सहमति अनुसार वडाअध्यक्ष माओवादी कै भागमा परेको थियो । आफ्नो जित्ने आधार भएपनि माओवादीलाई दिएको भन्नै असन्तुष्टी जनाउँदै उनीहरूले राजीनामा दिएका हुन् । 

    वडा कार्यसमितिका सदस्यहरूसहित क्रियाशिल सदस्यहरूले समेत राजीनामा दिएका छन् । अब के गर्ने भन्ने विषयमा नगर सभापतिसँग छलफल भइरहेको सभापति थापाले बताए । ‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौं । अब के गर्ने भनेर छलफल गर्छौ । स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ ,’ सभापति थापाले भने । 

    २०७४ सालको निर्वाचनमा धनगढी उप–महानगरपालिकामा नेपाली कांग्रेसका नृप ओडले जितेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार