Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति शर्मा भन्छन्- बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छ


    बिहिबार, बैशाख ८ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् । 

    सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

    सम्बोधनको क्रममा प्रधानसेनापति शर्माले सैनिक मूल्य–मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त गरेका थिए । 

    बदलिंदो सामाजिक, राजनैतिक र आर्थिक वातावरणका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सैनिक मूल्य मान्यतामा असर परिरहेको उनले जनाए । यो क्रम बढ्दै गएमा यसको दीर्घकालीन असर सङ्गठनमा मात्र सिमित नरही राष्ट्रिय सुरक्षामा समेत पर्ने हुँदा यस विषयमा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जा सजग हुनु पर्ने उनले बताए । 

    समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको जनाए । 

    नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्यसंस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको समेत उनले औंल्याएका थिए । 

    कतिपय अवस्थामा सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी सङ्गठन भित्रका विषयवस्तुहरु प्रचार प्रसार हुने गरेको हुँदा त्यसतर्फ सबैले विशेष ध्यान दिई सतर्क रहन जरुरी रहेको समेत उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार