सुधा देव
सप्तरी । मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको सहकार्यमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उप विजेता जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझाउनु परेको थियो ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेका थिए। राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए ।
जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सीमित भएको थियो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अलि र रञ्जित यादवले ११–११ रन जोडेका थिए ।
राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुब आलम १ विकेट लिएका थिए।
फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए ।
उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराजकै अनिल यादव घोषित भए । उनीहरू दुवै जनाले नगद ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो । न्युज कारखाना