Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रका डीआइजी सरुवाः ७ महिना जागिर भएका र रासनकाण्ड लागेकालाई बाहिनीपति


    बुधबार, असार ३१ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका डीआइजीको सरुवामा १ बर्षको पनि जागिर अवधि नभएका र विभिन्न काण्ड लागेकाहरुले महत्वपूर्ण ठाउँको जिम्मेवारी पाएका छन् । मंगलबार सशस्त्र प्रहरीले गरेका १४ डीआइजी सरुवामा शक्तिको आडमा जागिर अवधि ७ महिनामात्र भएका डीआइजीहरुले प्रदेशको नेतृत्व पाएका छन् । र, रासन काण्ड लागेका २ डीआइजीलाई पनि प्रदेश र सचिवालयजस्ता महत्वपूर्ण ठाउँ दिइएको छ ।

    सरुवा भएका डीआइजीमध्ये २ नम्बर प्रदेशमा कृष्णभक्त ब्रम्हचार्य, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा राजेन्द्र बस्नेत, सचिवालयमा ल्याइएका कविन्द्रमान श्रेष्ठको जागिर अवधि ७ महिनामात्र छ । एक बर्ष अवधि पनि जागिर नभएकालाई कार्यालय प्रमुख दिने प्रचलन छैन । सुशासनका दृष्टिकोणले पनि जागिर अवधि १ बर्ष नभएकालाई इन्चार्ज नदिने नीति छ । तर सशस्त्रमा यी तीनै जनालाई बाहिनीपति र सचिवालयजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

    बागमती प्रदेशका डीआइजी कृष्णभक्त बम्हचार्य २ नम्बर प्रदेशमा सरुवा भएका छन् । ब्रम्हचचार्यलाई इन्चार्जबाट इन्चार्जमा सरुवा गरी नीतिकै उल्लंघन गरिएको छ । बम्हचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा राजेश बज्राचार्यमार्फतु भिटो लगाएर २ महिनाअघि नै २ नम्बरमा सरुवा हुने भन्दैआएका थिए । आखिर उनको २ नम्बरमै सरुवा भएको छ ।

    एक नम्बर प्रदेशको बराह बाहिनीको प्रमुख हुँदा रासन काण्ड लागेर कारबाहीका लागि सिफारिस गरिएका डीआइजी मन्दिप श्रेष्ठलाई बागमती प्रदेशमा सरुवा गरिएको छ । सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा उनीमाथि कारबाही सिफारिस गरिएको थियो । बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो । प्रतिवेदनमा तल्लो तहका प्रहरीको रासनभत्ता डिआइजीसहितका हाकिमले लिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।

    घुमुवा राखी मरिच, छोगडा र लत्ताकपडा तस्करहरुसँग घुस असुलीमा विवादमा परेर अवधि नपुगी तानिएका प्रवीणकुमार श्रेष्ठलाई ९ नंं पशुपति बाहनी (उपत्यका) दिइएको छ । उनले २ नम्बर प्रदेशका जिल्लामा घुमुवा राखी तस्करहरुसँग असुली गरेको बिषयमा धेरै गुनासा आएका थिए । उनी कूटनीतिक आचारसंहिता विपरीत भारतीय दूताबासमा गएको भनी विवादमा परेका थिए ।

    कविन्द्रमान श्रेष्ठलाई पोखराको बाहिनीपति हुँदा रासन घोटालामा समय नपुगी तानिएको थियो । तत्कालीन मध्यक्षेत्रीय कार्यालय पथलैयामा हुँदा पनि उनी कार्यक्षमतासून्य भएर असुलीमा विवादमा परेकाले ९ महिनामै तानिएका थिए । तर अहिले तिनै कविन्द्रमान सचिवालय र खरिद बिक्री हेर्ने प्रबन्धमा ल्याइएका छन् । १ नम्बर प्रदेशमा सरुवा भएका बंशी दाहालको सरुवालाई भने विवादरहित नै मानिएको छ ।

    राजु अर्याललाई कार्य तथा सीमा सृुरक्षा विभागमा थन्क्याइएको छ । आइजीपी शैलेन्द्र खनालका नजिकका नारायणदत्त पौडेललाई सरुवा बढुवा हेर्ने मानवस्रोत विभाग सरुवा र अस्पताल समेत हेर्नेगरी जिम्मेवारी दिइएको छ । १ नम्बर प्रदेशको बराह बाहिनीपति हुने आशामा रहेका चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षामै थन्क्याइएको छ । इन्जीनीयर किशोर प्रधानलाई ५ नम्बर प्रदेशमा सरुवा गरिएको छ । उनका बाबु तनहुँ कांग्रेसका नेता भए पनि सांसद सुरेन्द्र यादव अपहरणकाण्डको आरोप लागेका सांसद किसान श्रेष्ठको जोडमा उनलाई ५ नम्बर प्रदेशको बिन्ध्याबासिनी बाहिनीको जिम्मेवारी दिइएको छ ।

    २ नम्बर प्रदेशमा जाने रहर गर्दैआएका राजेन्द्र बस्नेतलाई गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा पठाइएको छ । आइजीपी शैलेन्द्र खनालका दायाँ हात भएकाले हरिश्चन्द्र अधिकारीलाई पनि कर्णाली प्रदेशको महेश्वरी बाहिनी सुर्खेतमा पठाइएको छ । अधिकारी खनाल आइजीपी हुनासाथ एपीएफ अस्पतालको प्रमुखमा ल्याइएका हुन् । अस्पतालमा खरिदको ठूलो बजेट हुने भएकाले पनि उनलाई नीति नियम बुटले कुल्चेर खनालले अस्पतालको प्रम्ख बनाएका थिए । अस्पतालको खरिदमा कमिसन खानकै लागि खनालले नीति बिपरीत अधिकारीलाई अस्पताल प्रमुख बनाएका थिए । जबकि त्यसअघि चिकित्सक नै अस्पतालको प्रमुख हुँदैआएका थिए ।

    तस्वीरः माथिल्लो लहरबाट नारायणदत्त पौडेल, किशोर प्रधान, कविन्द्रमान श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, कृष्णभक्त बम्हचार्य र मन्दीप श्रेष्ठ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार