विराटनगर । प्रहरीकाे पाेशाकमा टिकटक भिडियाे बनाएर रमाइलाे गर्न खाेज्ने दुई प्रहरी कारबाहीमा पर्ने भएका छन् । इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत हरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईले पाेशाकमै भिडियाे शुट गरेर फेसबुकमा शेयर गरेका थिए ।
प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे ।
उनीहरुले टिकटक बनाउने क्रममा आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटकि) पनि राखेका भिडियोमा देखिन्छ ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन सुरु भएकाे बताइएकाे छ ।
निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने भएपनि ती दुई प्रहरीले अवज्ञा गरेका थिए ।