सन् २०११ मा मिस नेवाः बनेर चर्चा कमाएकी सुनिता डंगोल पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने रन्जना लिपिलाई नविन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी छिन् । ‘सोसियल साईन्स’मा स्नातकोत्तर गरेकी सुनिताले यहि बैशाख ३१ मा हुने स्थानीयतहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेपछि उहाँको चर्चा थप चुलिएको छ । डंगोलसँग यही विषयमा केन्द्रित भई गरेको संक्षिप्त कुराकानीः
मेयरको उम्मेद्वार बन्ने घोषणसँगै अहिले तपाईँको चर्चा चुलिएको छ । तपाईँ आफैँले चाँहि कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मैले निकै सोँच–विचार गरेर नै यो निर्णय लिएको हो । त्यसैले म आफैँले यसलाई सहज रुपमै लिएको छु । जहाँसम्म प्रतिक्रियाको कुरा छ । मैले मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेपछि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु । नूतन सोँच भएका युवा अहिलेको आवश्यकता हो भन्दै मलाई धेरैले सामाजिक सञ्जाल र स्वमं मेरो भेटमा पनि उर्जा भरिदिने काम गर्नुभएको छ । त्यसले मलाई थप उत्साह भरिदिएको छ । धेरैले अब काठमाडौँ महानगर कस्तो बनाउने भन्ने योजना समेत मसँग सेयर गर्न थाल्नु भएको छ । म अहिले सबैका सकारात्मक सुझावलाई ग्रहण गर्दै मेरो चुनावी घोषणापत्रमा समेत समावेश गर्ने तयारीमा छु । मैले सफा र समृद्ध सहर बनाउन के–कस्ता योजना आवश्यक छ भनेर सार्वजनिक रुपमा समेत अपिल गरेको छु । सार्वजनिक अपिलमार्फत प्राप्त सकारात्मक सुझावलाई म मेरो घोषणापत्रमा समावेश गर्ने छु । यो एकदमै नयाँ प्रयोग तपाईँले गर्नुभएको छ ।
चुनावी घोषणपत्रमा समावेश गर्नका लागि सुझाव भनेर अपिल नै सार्वजनिक गरेपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
यही आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाबाट मेयरको उम्मेदवार घोषणा गरेपछि मैले चुनावी घोषणापत्रमा समावेश गर्ने एजेण्डामा सुझावका लागि अपिल गरेकी छु । यहि बैशाख ३० मा देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ । मैले सार्वजनिक गरेको अपिलमा मेयर पदमा निर्वाचित भै काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रुप प्रदान गर्न युवाहरुको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु । । काठमाडौँ म जस्ता लाखौँ युवाको भाग्य र भविश्य निर्माण गर्ने सहर हो । म यही सहरमा जन्मिएँ, म यहिँको माटोमा हुर्किएँ र धेरै कुरा सिक्ने अवसर पनि यहिँको माटो र परिवेशबाट प्राप्त गरेँ ।
त्यसैले मैले यही माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौँको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ । अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता छ । समृद्ध र सुन्दर काठमाडौँ महानगर बनाउन युवाहरुको भिजन अहिलेको आवश्यकता भएकाले मैले मेयर पदको उम्मेदवार बन्दै गर्दा आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह, युवाको नूतन सोँच र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने हुन्छ । सार्वजनिक अपिलले त्यसमा पनि सहयोग गर्ने अपेक्षा गरेको छु ।
युवाहरुका नूतन सोँच र योजनालाई समावेश नगर्ने हो भने मेरो चुनावी घोषणापत्र अधुरो बन्छ । त्यसैले यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविश्य निर्माण गर्ने युवाहरुलाई साँस्कृतिक सहर काठमाडौँलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नविनतम् सोँच समावेश गर्न युवाहरुका नूतन योजनाका लागि अपिलमार्फत आग्रह गरेको छु । अहिले सकारात्मक सुझाव मैले प्राप्त गरिरहेको छु ।
महानगरलाई थप समृद्ध सरहको पहिचान दिन तपाईँको उम्मेदवारी हो ?
मुलुक समृद्ध बनाउन नयाँ सोँच भएका युवा चाहिन्छ । त्यो सोँच र भिजन मसँग छ । अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ । त्यसका लागि यूवाहरु नै नेतृत्वमा आउन आवश्यक छ । यो मुलुक समृद्ध बनाउने हो भने मुलुकको नेतृत्वको जिम्मा पनि भिजन भएका योग्य र जुझारु यूवालाई नै दिनुपर्दछ । मसँग सुन्दर र समृद्ध काठमाडौँ बनाउने भिजन छ । मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु । त्यो भिजनलाई पूरा गर्न हरेक यूवाको साथ लिएर अघि बढ्ने छु । अनुभवी र विज्ञहरुको टीम बनाएर काठमाडौँलाई पर्यटकीय र सांस्कृतिक सहरको रुपमा विकास गर्नेछु । काठमाडौँ महानगर भनेको मुलुकको राजधानी रहेको नगर हो । यहाँको पूर्वाधार विकाससँगै सुन्दर सहर मुलुकका लागि नमूना हो । त्यसैले यो नगरलाई मुलुककै नमूना सहरका रुपमा विकास गर्न पनि मेयर पदको उम्मेदवारी दिने सोँच बनाएकी हुँ ।
योजना के–के छन् ?
अहिले पनि म सुझावहरु मागिरहेकी छु । उत्साहजनक सुझाव प्राप्त भएका छन् । सबै भन्दा पहिलो भनेको म मेयर निर्वाचित एपछि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने छु । फोहरबाट उर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ । मैले जापान, जर्मनीआदि देशहरुको भ्रमण गर्दा यो देखेकी छु । उक्त प्रविधि नेपालमा ल्याएर फोहरलाई रुपैयाँमा ढाल्न सकिन्छ । अहिले काठमाडौँवासीले फोहर घरबाट निकाले वापत प्रति घर चार सय रुपैंया मासिक बुझाउनु परेको यथार्थ हाम्रा सामू छ । हामीले उक्त प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैँले बिजुली उत्पादन गरेर सहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहर उठाउँदा उल्टै पैसा दिनसक्ने अवस्था सिर्जना हुन्छ । दोस्रो भनेको संस्कृति–सम्पदाको संरक्षण हो । काठमाडांै महानगरपालिकालाई संस्कृति र सम्पदाको सहर भनि चिनिन्छ । महानगरपालिका क्षेत्र भित्र रहेका मूर्त–अमूर्त संस्कृतिक सम्पदा, मौलिक भाषा, लिपी, कला हो ।
दोस्रो भनेको संस्कृति–सम्पदाको संरक्षण हो । काठमाडौं महानगरपालिकालाई संस्कृति र सम्पदाको सहर भनि चिनिन्छ । महानगरपालिका क्षेत्रभित्र रहेका मूर्त–अमूर्त संस्कृतिक सम्पदा, मौलिक भाषा, लिलि, कला तथा ऐतिहासिक संस्कृतिक सम्पदाहरुलाई नविन सोँच र रणनीतिबाट युवाहरु मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा संरक्षण सम्बर्धन र प्रवर्धन गर्न सकिन्छ ।
यस्तै ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुशासन पालना गर्ने कार्यको कार्यान्वयन गराउने स्पष्ट योजना म सँग छ । त्यो विषयमा मात्रै यहाँ उल्लेख गर्दा लामो हुन्छ । त्यो भिजन मसँग छ । चौथो, अहिलेको युग सूचना र प्रविधिको युग हो । नयाँ–नयाँ प्रविधि र सूचना प्रविधिको विकास भैरहेको छ । त्यसको सदुपयोग गर्दै युवाहरुलाई समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलित विकासका लागि विभिन्न कार्यक्रमसहित दिगो विकास व्यवस्थित सहरीकरणको लागि आवश्यक योजना बनाई काम गर्ने योजना म सँग छ ।
पाँचौँ, कोभिड–१९ पछिको आर्थिक, सामाजिक र वातावरणीय पुनरुत्थान र सन्तुलन गर्ने, काठमाडौं महानगर पर्यटन विकास र प्रवद्र्धन, विश्व सम्पदादेखि विश्वसम्पदासम्म पदमार्ग निर्माण गर्ने, रोजगारीे श्रृजना गर्ने प्रष्ट योजना पनि म सँग छ । छैटौँ, महानगरलाई हाईटेक, डिजिटलाईज्ड स्मार्ट शहरको रुपमा विकास गर्ने । जनतालाई वडा–वडामा अनावश्यक रुपमा धाउन लगाएर दुःख दिइरहनु पर्ने युगको अन्त्य गर्न चाहन्छु । त्यसका लागि डिजिटल प्रविधिबाट अधिकांश सेवा घरमै बसेर यहाँका जनताले लिन सक्ने वातावरण बनाउने म सँग प्रष्ट योजना छ ।
स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्न सकिन्छ ?
काठमाडौंका जनताले संधै न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहिँको माटोमा जम्मिएकी, हुर्केकी ज्यापु जातीको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियन्ताका रुपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाँउदो विसका गर्ने योजना बनाएकी छु । सांस्कृतिक सहर काठमाडौँ कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ । यहाँका युवाहरुको सोँच, यहाँका युवाहरुको भावना र यहाँका युवाहरुको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ । त्यति मात्रै होइन आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आर्शिवाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजनाहरु हुन् ।
मेयरको तयारीसँगै वृहद योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुंदै गर्दैै आइरहेको समाज सेवाले गर्दा पनि यसपाली काठमाडौंवासीले मलाई मेयरको रुपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु । तपाईँ युवा हुनुहुन्छ । विश्वका धेरै देशहरुमा युवाले उदाहरणीय काम गरेर आफ्नो क्षमता प्रस्तुत गरेका छन् ।
तपाईँ अहिले राजनीतिमा आउँदै गर्दा बढी प्रभावित कुन नेतासँग हुनुहुन्छ ?
मैले यसअघिका अन्तवार्ताहरुमा पनि भन्ने गरेको छु । म समाजवादमा विश्वास गर्छु । विपी कोइराला, मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंहहरु अहिले हाम्रो बिचमा हुनुहुन्न । तर, उहाँहरुको योगदान अहिले पनि हरेक जनताको मानसपटलमा ताजा छ । अहिलेका जिवित नेतामा सपना देखाउन सक्ने क्षमता भएको नेतामा नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली लाग्छ ।